सर्वदलीय बैठक शुरु, एमाले अनुपस्थित
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको हो ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेका छन् । ओलीले प्रतिपक्ष दलसँग सल्लाह नगरी बैठक बोलाएको र संसद गतिरोध हलका लागि पहल नगरेको कारण देखाएर सहमभागी हुन नसक्ने जवाफ प्रधानमन्त्री देउवालाई दिएका छन् ।
प्रधानमन्त्री देउवाले हाल जारी संसद्को अवरोध हटाउन तथा एमसीसीका विषयमा साझा धारणा बनाउँन बैठक बोलाएका हुन् ।
बैठकमा सत्ता गठबन्धन दलका प्रमुख नेताहरुका साथै गठबन्धन बाहिरका संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सहभागिता रहेको छ ।







