स्वास्थ्यमन्त्री खतिवडाद्वारा मोर्डना खोप अभियानको सुरुवात
मकवानपुर। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्यकर्मीहरुलाई खोप हस्तान्तरण गर्दै मोर्डना खोप अभियान सुरु गरेका हुन्। आइतबार बागमती प्रदेशको राजधानी हेटौँडाबाट १२ वर्ष देखि १८ बर्षका बालबालिकाहरूलाई कोरोना विरुद्धको मोर्डना खोप अभियान सुरु भएको हो।
स्वास्थ्य कार्यालय मकवानपुरले हेटौँडाको भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)मा एक कार्यक्रमको आयोजना गर्दै १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाहरुका लागि कोरोना विरुद्धको मोर्डना खोप लगाउने अभियानको सुरुवात गरेको हो। मन्त्री खतिवडाको रोहवरमा भुटनदेवी माध्यमिक विद्यालयका एक छात्र संगम खत्री र एक छात्रा विनिताकुमारीलाई खोप लगाएर देशभर मोर्डना खोप अभियान सुरु भएको छ।
आजबाट देशभरका ५७ वटा जिल्लामा खोप अभियान सुरु भएको मन्त्री खतिवडाले जानकारी दिए। मकवानपुर मन्त्री खतिवडाको गृह जिल्ला पनि हो भने उनी सोही स्कुलमा अध्ययन गरेका थिए। देशभरको केन्द्रविन्दु बनाएर हेटौंडाको भुटनदेवी स्कुलबाट खोप अभियान सुरु गरिएको र केही दिनभित्रै देशका ७७ वटै जिल्लामा सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए।
मन्त्री खतिवडाले हाल कोरोना विरुद्धको खोप प्रर्याप्त रहेको भएपनि खोप लगाउन मानिस नआउने गरेको गुनासो गरे। उनले सबै ठाउँका विद्यालयमा पुगेर सबै विद्यार्थीहरुलाई स्वास्थ्यकर्मीहरुले खोप लगाउने भएकाले निश्चिन्त भएर खोप अभियानमा सहभागी हुन र आफ्ना अभिभावकहरूलाई खोप लगाउन बाध्य पार्ने परिस्थिति सृजना गर्न समेत आग्रह गरेका छन्।







