सुनजस्तो देखिने धातुसहित दुईजना बंगलादेशी नागरिक पक्राउ

अखबार हब
२०७८ पुष ३, शनिबार १६:५७

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई छिपाई लैजान लागेको सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना बंगलादेशी नागरिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ५ सय ९० ग्राम सुन जस्तो देखिने पहेँलो धातुको बिस्कुट आकारको वस्तु, चेन, औँठी, ईएर रिङ, झुम्का र चुरा सहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा बंगलादेशी नागरिकहरू राहदानी नम्बर इएफ ०३९४७४१ बाहक २२ वर्षीय सलमान अहमेद र राहदानी नम्बर बिटि ०२१२१५४ बाहक ३० वर्षीय एमडी अबु जिहाद रहेका छन् । उनीहरूमध्ये अहमेदको साथबाट ३ सय ३० ग्राम र जिहादको साथबाट २ सय ६० ग्राम सुन जस्तो देखिने धातु बरामद भएको हो ।

हिमालयन एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा विमानस्थल प्रहरी र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त परिमाणको धातु फेला परेको हो । उनीहरू उपर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा आवश्यक अनुसन्धान एवम् कारबाही भइरहेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*