योगदान राष्ट्रको लागि चितवन शाखाको तीन दिने निःशुल्क प्राथमिक उपचार तालिम सुरु
चितवन । योगदान राष्ट्रको लागि चितवन शाखाको आयोजनामा तीन दिने निःशुल्क प्राथमिक उपचार तालिम सुरु भएको छ । शुक्रबारबाट भरतपुरमा सुरु भएको तालिममा चितवनका ११३ र बाहिरी जिल्लाबाट ५७ जना गरी १७० जनाको सहभागीता रहेको छ ।
ग्रामिण क्षेत्रमा प्राथमिक उपचार तालिम प्राप्त स्वयंसेवक उत्पादन गर्दै प्राथमिक उपचारको अभावमा अकालमा ज्यान गुमाइरहेका सर्वसाधारणको जीवन रक्षाका लागि आयोजना गरेको तालिमको उद्घाटन बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै खनालले योगदान राष्ट्रका लागिले चालेको अभियान निकै राम्रो भएको बताए ।उनले सडकमा दुर्घटना भएपश्चात प्राथमिक उपचार गराउने जनशक्तिकै अभाव भइरहेको अवस्थामा यस तालिमले ठूलो योगदान दिने विश्वास लिएको बताए। उनले योगदान राष्ट्रका लागिले गर्न लागेको अन्य कार्यहरु राम्रो भएकाले प्रदेश सरकारका तर्फबाट गर्नुपर्ने सहयोग गर्न आफू तयार रहेको बताए।
कार्यक्रमका संयोजक एवम् योगदान राष्ट्रका लागिका उपाध्यक्ष एकराज बुर्लाकोटीले आफ्नो संस्थाको मुख्य उद्देश्य प्राथमिक उपचार हाम्रो सरोकार रहेको बताए । उनले सोही उद्देश्यअनुरुप चितवनमा तालिमको आयोजना गरिएको बताए । प्राथमिक उपचारको अभावमा कसैले ज्यान गुमाउनु नपरोस भन्ने आफूहरुको प्रमुख उद्देश्य रहेको उनले बताए ।
योगदान राष्ट्रको लागि केन्द्रिय अध्यक्ष तथा प्रशिक्षक ओम उप्रेतीले एक घर एक प्राथमिक स्वयमसेवक भन्ने अभियान सहित यस संस्था लागिरहेको बताए। नेपालका सबै जिल्लामा कार्यसमिति विस्तार गरिरहेको भन्दै हालसम्म ६२ जिल्लामा संस्थाको कार्यसमिति बनिसकेको जानकारी दिए ।
कार्यक्रम संयोजक बुर्लाकोटीले सरकारी तवरबाट कुनै सहयोग नभए पनि योगदान राष्ट्रका लागिमा आवद्धहरु र विभिन्न सामाजिक व्यक्तित्वहरुको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको बुर्लाकोटीले बताए ।
कार्यक्रममा योगदान राष्ट्रको लागिका केन्द्रिय उपाध्यक्ष राहुल कौशल, केन्द्रिय सचिव बिष्णु भण्डारी,केन्द्रिय कोषाध्यक्ष श्याम पौडेल, केन्द्रिय सदस्य रमिला श्रेष्ठ,केन्द्रिय सदस्य ललिता अर्याल तथा योगदान राष्ट्रको लागि जिल्ला अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।







