विश्वप्रकाश शर्मा : संसदीय मोर्चामा असफल,पार्टीमा सफल

अखबार हब
२०७८ पुष १, बिहीबार १९:०५

नेपाली कांग्रेसको उपसभापतिमा आएको नतिजाले नै महामन्त्रीको सम्भावित परिणामको बुधबारै संकेत गरिसकेको थियो। निर्वाचनको अन्तिम परिणाम नआउँदै त्यो संकेत वास्तविक भयो, अर्थात–कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्माले जित निकाले।

उनीसँगै गगन थापा पनि करिब दुईतिहाइ मतसहित महामन्त्रीमा विजयी भए। महाधिवेशनस्थल भृकुटीमण्डपमा ‘महामन्त्रीमा गगन–विश्व’ भनेर लागेको नाराको पनि परिणामले पुष्टि गरेको छ।

संस्थापन इतरमध्ये सबैभन्दा कमजोर समूहबाट उम्मेदवारी दिएका शर्मालाई लिएर धेरैले क्षमतावान नेता थन्किने चिन्ता जनाएका थिए। तर, शर्माले महाधिवेशनमा उम्मेदवारमध्ये दोस्रो सर्वाधिक मत पाएर कांग्रेसको संगठन हाँक्ने स्थान सुरक्षित गरेका छन्।

प्यानलै बनाएर १४ औँ महाधिवेशन लडेका शेरबहादुर देउवाले सभापति, उपसभापतिमा पूर्णबहादुर खड्काले जितेका छन्।

डा. शेखर कोइराला प्यानलबाट एकजना उपसभापति धनराज गुरुङ र एक महामन्त्री गगन थापाले जिते।

यस्तै प्रकाशमान सिंह पक्षबाट एकजना महामन्त्री विश्वप्रकाश शर्माले जितेका छन्। तुलनात्मक रुपमा निकै कमजोर टिमबाट महामन्त्री भिडेका शर्माले अन्ततः सबैलाई चक्मा खुवाइदिएका छन्।

संसदमा हार, पार्टीमा जित
शर्माले पार्टीका हरेक मोर्चामा जित्दै आएका छन्। २०५३ सालमा नेविसंघ महामन्त्री र २०५७ मा सभापति बने। कांग्रेसको १३ औं महाधिवेशनमा १६२० मत ल्याएर उनी केन्द्रीय सदस्य भएका थिए।

निर्वाचनबाटै २५ जना केन्द्रीय सदस्य चुनिएको १३ औं महाधिवेशनमा शर्माले १६ औँ नम्बरमा जितेका थिए।

१४ औं महाधिवेशनमा कमजोर टिमबाट महामन्त्रीमा प्रतिस्पर्धा गर्दा पनि शर्माले राम्रो मत ल्याएर जित निकाले। पार्टी मोर्चामा सफल शर्माको संसदीय राजनीति त्यति राम्रो देखिँदैन। उनी दुईपटक संसदको चुनावमा भाग लिएर दुवै पटक पराजित भएका छन्।

०७० को संविधान सभा र ०७४ को संघीय संसदको निर्वाचनमा उनी पराजित भएका हुन्।

यसमा तपाइको मत

Your email address will not be published.


*