नेपालबाट भारततिर बंगुरका पाठा तस्करी
विराटनगर । रैथाने जातका बंगुरका पाठा (बच्चा) नेपालबाट भारततिर तस्करी हुने गरेको पाइएको छ। बंगुरको तस्करी पहिलो पटक पत्ता लागेको हो।
गाई, गोरु, राँगा, भैँसी लगायतका चौपाया भने नेपालबाट तस्करी गर्दै अवैध तरिकाले भारत कटाउने गरिन्थ्यो। तर पूर्वी नेपालका धरान, दमक लगायतका सहरमा पाइने रैथाने जातका बंगुरका पाठा संकलन गरेर तस्करहरुले सुरक्षाकर्मीलाई छल्दै सीमा कटाएर भारत पुर्याउने गरेको फेला परेको छ।
मासुका लागि धराने कालो बंगुर प्रख्यात छ। धरान, दमक लगायतका विभिन्न सहरबाट संकलन गरिएका पाठा जुटको बोराभित्र राखेर नेपाल–भारत सीमा क्षेत्रमा पुर्याउने र त्यहाँबाट भारत कटाउने गरिएको फेला परेको हो।
तस्करको समूहले भारतको जोगवनीतिर कटाउन लागेको अवस्थामा ६० वटा बंगुरका पाठा विराटनगरबाट बुधबार दिउँसो सशस्त्र प्रहरीले बरामद गरेको छ। तस्करीमा संलग्नहरु भने सशस्त्र प्रहरीलाई देख्नसाथ बंगुरका पाठा छाडेर फरार भएका थिए। सशस्त्र प्रहरी बल बीओपी (बोर्डर आउट पोस्ट) बखरीका प्रहरी निरीक्षक दिलकुमार पन्त नेतृत्वको टोलीले विराटनगर महानगरपालिका–१६ दरैयाबाट बंगुरका पाठा नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि पाठा विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्रले जनाएको छ। ‘नेपालमा पाठा खरिद गर्दै तस्करी गरेर पुर्याएपछि भारतमा बंगुर पालन गर्नेहरुलाई बिक्री गरिँदो रहेछ’, सशस्त्र प्रहरी स्रोतले भन्यो, ‘नेपालमा भन्दा भारतमा महँगो हुने गरेकाले बंगुरको पाठा पनि अवैध तरिकाले लैजाने गरेको पाइयो।’
सशस्त्रले बरामद गरेको पाठा नेपालमा प्रतिगोटा ५ हजार रूपैयाँसम्म पर्ने गरेको बताइन्छ। त्यही पाठा तस्करी गरेर भारत पुर्याउँदा भारतीय ८ हजार रूपैयाँभन्दा बढीमा बिक्री हुने गरेको पत्ता लागेको सशस्त्रले जनाएको छ। भारतीय ८ हजार रूपैयाँको नेपाली १२ हजार ८ सय रूपैयाँ हुन्छ।
सशस्त्रका अनुसार नेपालको बंगुर भारतमा नपाइने र एउटै पाठा लगेर बिक्री गर्दा पनि धेरै रकम नाफा निकाल्न सकिने भएकाले तस्करी हुने गरेको पुष्टि भयो। ‘मासुका लागि प्रख्यात मानिएको नेपालको रैथाने जातका बंगुरको पाठा भारतमा नपाइने भएकाले पाल्नलाई माग धेरै रहेछ,’ स्रोतले भन्यो, ‘माग अधिक भएसँगै धेरै नाफा हुने भएकाले नेपालका विभिन्न सहरबाट संकलन गरेर तस्करहरुले एक ठाउँमा भेला पर्दै बंगुर भारत कटाउँदा रहेछन्।’
भारतको स्थानीय जातको भन्दा मासु मिठो हुने भएकाले नेपालमा पाइने बंगुरका पाठाको माग भारतमा धेरै हुने गरेको बताइन्छ। विराटनगर भन्सार कार्यालयका प्रवक्ता रामचन्द्र ढुंगानाले प्रक्रिया पूरा गरेर बंगुरका स्वस्थ्य पाठा मात्रै भारत निकासी गर्न पाइने जानकारी दिए। तर प्रक्रिया झन्झटिलो हुँदा सीमा क्षेत्रका सुरक्षाकर्मीलाई छल्दै तस्करी गर्ने गरिएको उनको भनाइ छ।
‘निकासी गर्न तयार पारिएका बंगुरका पाठा पशु क्वारेन्टाइन कार्यालयले परीक्षण गरेपछि स्वस्थ्य भए–नभएको यकिन गरेर सिफारिस दिन्छ। क्वारेन्टाइनले भारत लैजान उपयुक्त रहेको प्रमाणित गरिसकेपछि बंगुरका पाठा लैजानलाई बाटो खुल्छ,’ उनले भने, ‘त्यसपछि भन्सार कार्यालयले अनुमति दिनुपर्छ। क्वारेन्टाइन र भन्सारको प्रक्रिया पूरा गरेर मात्रै बंगुर नेपालबाट भारततिर लैजान पाइने नियम छ।’
बंगुरको निकासी शुल्क भने नलाग्ने ढुंगानाले बताए। ‘क्वारेन्टाइनको सिफारिसपछि भन्सारबाट अनुमति नलिएसम्म बंगुर भारत लैजान पाइँदैन,’ प्रवक्ता ढुंगानाले भने, ‘प्रक्रिया अलि झन्झटिलो हुने र नेपालमा भन्दा भारतमा मूल्य पनि बढी पाइने भएकाले बंगुरका पाठाको तस्करी हुने गरेको हो।’
सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीले अवैध ओसारपसार एवं तस्करी नियन्त्रणका लागि नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको जानकारी दिए। ‘सुरक्षाकर्मीलाई छलेर नेपालबाट भारत र भारतबाट नेपालतिर सामान एवं चौपायाको तस्करी हुने गरेको पाइन्छ,’ उनले भने, ‘त्यसलाई नियन्त्रणमा लिन सीमा क्षेत्रमा २४ घण्टा नै सुरक्षा तैनाथी बढाइएको छ।’
गिरीले तस्करीसहित सीमा क्षेत्रमाहुने विभिन्न अवैध गतिविधी नियन्त्रणमा लिन विशेष टोली परिचालन गरिएको जानकारी दिए। ‘सबै खालका चोरी–तस्करी रोक्न सशस्त्रले विशेष अभियान सञ्चालन गरेको छ,’ डीआईजी गिरीले भने, ‘कोरोना महामारी नियन्त्रणमा पनि सशस्त्रलाई केन्द्रित गरेर सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।’







