हेटौंडामा टिप्परको ठक्करबाट १ जनाको मृत्यु
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१९ दामिटारमा आज(बुधवार) बिहान टिप्परको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।
हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख १८४९ नम्बरको टिप्परले चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ४९ प ८२५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक चितवनको रत्ननगरका ४० वर्षीय युवराज आचार्यको मृत्यु भएको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
दुर्घटनामा परेर मोटरसाइकलमा सवार बागलुङको जैमिनीका ३३ वर्षीय नुरबहादुर थापा घाइते भएका छन् । उनको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । थापाको अवस्था सामान्य छ ।
टिप्पर चालक फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।







