प्रेस चौतारी मकवानपुरले भन्यो ‘पत्रकारलाई समाचार संकलन गर्न रोक्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
मकवानपुर । बागमती प्रदेशको मन्त्री परिषद विस्तारको क्रममा पत्रकारलाई प्रवेश गर्न नदिएको घटनाको प्रेस चौतारी नेपाल, मकवानपुरले ध्यानाकर्षण गरेको छ । सूचना संकलनको लागि पुगेका पत्रकारलाई गेटमानै रोकेर प्रदेश प्रमुखको कार्यलयले प्रेस स्वतन्त्रता विरोधी कार्य गरेको भन्दै चौतारीले भत्र्सना गरेको हो ।
प्रेस चौतारी नेपाल, मकवानपुरका अध्यक्ष धर्मेन्द्र दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘ बागमती प्रदेश प्रमुखको कार्यलयले राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारहरुलाई समेत सपथग्रहण कार्यक्रममा सहभागि हुनबाट बञ्चित गराउने कार्य लोकतान्त्रिक मूल्य, मान्यता विपरित प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने तर्फ अघि बढेको देखिएको छ । ’
कार्यलयले आम नागरिकको सूचना पाउने अधिकारलाई समेत आघात पुग्ने गरि चिसो साँझमा पत्रकारहरुलाई गेट बाहिरनै रोकेर सपथग्रहणको कार्य गर्नु निकै निन्दनीय विषय भन्दै चौतारीले पत्रकारहरुले पटक–पटक समाचार संकलनको लागि गरेको आग्रहलाई लत्याउँदै कार्यक्रम गर्नुले प्रदेश प्रमुखको निरंकुश ब्यवहारको झल्को दिएको जनाएको छ ।
संघिय लोकतान्त्रिक ब्यवस्था भएको मुलुकमा प्रदेश प्रमुख को नाउँमा पेश भएको यस्ताखाले दम्भ र घमण्डलाई पत्रकारहरुको हक हित र अधिकारको लागि स्थापित प्रेस चौतारी नेपाल टुलुटुलु हेरेन नबस्ने समेत चौतारीले चेतावनी दिएको छ ।







