पत्रकारसँग डराउदै बागमती सरकार,सपथ ग्रहणमा पत्रकालाई प्रवेश निषेध

अखबार हब
२०७८ मंसिर २८, मंगलवार २०:२८

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको सपथ ग्रहण समारोहमा सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाइएको छ ।

मंगलबार मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेको र सपथ ग्रहण समारोहको समाचार संकलन गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगेका सञ्चारकर्मीलाई नेपाली सेनाले ‘माथिको आदेश’भन्दै गेटमै रोकेको हो । सेनाले सरकारी मिडियाका सञ्चारकर्मीलाई मात्र प्रवेश गराएका थिए । पत्रकारलाई प्रवेश नगराउन प्रदेश प्रमुख कार्यालयका सचिव शिवराम न्यौपानेले आदेश दिएको एक कर्मचारीले बताए । उनका अनुसार न्यौपानेले सपथ ग्रहण स्थलमा भिडभाड भएकोभन्दै सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाएका हुन् । समाचार संकलनका लागि प्रदेश प्रमुख कार्यालय पुगेका सञ्चारकर्मी करिब २ घण्टा गेट बाहिरै बसेर फर्केका थिए । यसअघि पनि पत्रकारलाई प्रवेश रोक लगाइएपनि पेन र क्यामेरा डाउन गरेपनि प्रवेश दिने गरिएको थियो ।

बागमतीमा नयाँ प्रदेश प्रमुखको रुपमा यादब शर्मा नियुक्त भएसँगै मन्त्री तथा राज्यमन्त्रीको सपथ ग्रहण समारोहमा सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाउन थालिएको हो । पत्रकारलाई योसँगै तेस्रो पटक मन्त्रिपरिषद् विस्तारमा रोकिएको हो । नवनियुक्त वन तथा वातावरणमन्त्री विशाल खड्काले सञ्चारकर्मीलाई भित्र प्रवेश नगराएसम्म आफू सपथ ग्रहण नगर्ने अडान लिएपछि केही समय भित्र तनावको अवस्था सिर्जना भएको एक सांसदले बताए । ‘संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले सम्झाएपछि उहाँले सपथ ग्रहण गर्नुभयो ।’, उनले भने । खड्का करिब २० मिनेट सञ्चारकर्मीसँगै बाहिर बसेर ‘तपाईंहरुको समस्या समाधान गर्छु ।’ भनेर भित्र प्रवेश गरेका थिए ।

समाचार संकलन गर्न पुगेका नेपाल पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाईंले सपथग्रहणमा सञ्चारकर्मीलाई प्रवेश गर्न नदिएर प्रदेश प्रमुख मिडियासँग डराएको बताए । ‘पटक–पटक सञ्चारकर्मीलाई प्रदेश प्रमुख कार्यालयमा समाचार संकलन गर्न जान अवरोध गरिरहेको छ । यो अभिव्यक्ति स्वतन्त्रता विरुद्ध हो ।’, उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*