ज्ञान कम्पनीको चोकरमा भेटियो विषादी, खसी कुखुरा मरे
मकवानपुर । पश्चिम मकवानपुरको मनहरीमा ज्ञान कम्पनी चोकर खुवाउँदा खसी कुखुरा मरेका छन् । मनहरी गाउँपालिका वडा नं. ३ लामिटार निवासी दुर्गा ढकालको गोठमा रहेका खसी कुखुराहरु विषादी चोकरको सेवनका कारण मरेको हो । ४ खसी, १ बाख्रा र ४ लोकल कुखुरा गरी करीब डेढ लाख बराबरको क्षति भएको पीडित दुर्गाले बताईन् ।
दुर्गा आइतबार बेलुका पशुहरुलाई चोकर पानी खुवाएर सुतेकी थिइन् । बेलुकी करीब १२ बजेतिर बाख्राहरु कराउन थाले । उठेर हेर्दा बाख्राहरु छट्पटाएर कराएको देखिन् । त्यसपछि आत्तिएर नजिकैका छिमेकीहरुलाई गुहार्न थालिन् । ग्रामीण भेगमा अझैपनि भुतप्रेत लागेको हो कि झारफुकबाट निको हुन्छ की भन्ने विश्वास छ । त्यसैगरी दुर्गाले पनि नजिकैको धामीलाई झारफुक गर्न लगाइन् । तर केहि समयपछि खसीले प्राण त्याग्यो । हेर्दाहर्दै अघिसम्म एउटा खसी छट्पटाएको थियो पछि पालैपालो अर्को खसी पनि छट्पटाउन थाल्यो । अब भने उनले गाउँकै पशु डाक्टर विष्णु अधिकारीलाई बेलुकी २ बजे फोन गरीन् । डाक्टर आइपुगेर केहि औषधी उपचार गरे । पछि खोरमा भएका ४ वटा खसी पनि झोक्राउन थाले ।
पशुहरुको चिन्ताले त्यो रात उनको तनावमा नै बित्यो । पछि बिहान कुखुरालाई पानी दिन भनी कुखुराको खोरमा जाँदा त्यहाँ पनि ४ वटै कुखुरा उत्तानो परेर सास छोडिसकेका थिए । यो दृश्य देखेर पिडाले झन् मुर्छा परीन् दुर्गा । यसैगरी झोक्राएर बसेका ४ खसीहरुमध्ये २ खसीहरु पनि मरे । बिहान उज्यालोमा हेर्दा चोकरमा कालो विषादी देखिन् । वरपरका मानिसहरु भेला भए । थोरै हाँतमा लिएर नजिकबाट सुँघ्दा मुसा मार्न प्रयोग हुने विषादीको गन्ध आयो ।
त्यसपछि वडा अध्यक्ष विष्णु बहादुर थिङ, रजैयास्थित लामा कोल्ड स्टोर (जहाँबाट चोकर खरीद गरिएको थियो) का सञ्चालक प्रेम लामा, मनहरी गाउँपालिकाका पशु शाखा प्रमुृख सरोज खतीवडा लगायतलाई बोलाइयो । पशु शाखाका प्रमुख खतीवडा जिल्लाबाट पशु विज्ञ टोली, नेवारपानी चौकीका प्रमुख अरविन्द्र कुमार यादवको टोलीसहित घटनास्थालमा पुगे । मृत पशुहरुको चीरफार गरी भित्रका कलेजोहरु आवश्यक जाँचका लागि विधी विज्ञान प्रयोगशाला काठमाडांै पठाइयो ।
यता पसल सञ्चालक प्रेम लामाले हेटौँडा स्थित डिलर श्री वैधनाथ खाद्य उद्योगमा खबर गरे । उक्त डिलरका संचालक सुदर्शन खरेलले पनि चोकरको आधिकारीक कम्पनीलाई खबर गरी आवश्यक क्षतीपुर्तीको लागि माग गरेका छन् ।
ज्ञान चोकर कम्पनीका सेल्सम्यान मनोज शर्मा घटनास्थलमा आएर अनुगमन गरेका थिए । शर्मासँग बुझ्न खोज्दा उनले हामीले २० वर्षदेखि व्यापार÷व्यवसाय गर्दै आएका छौ यस्तो कहिल्यै भएको थिएन भन्दै झर्किएर फोन राखे ।







