विदेशबाट फर्केकाले दुई सातामै ल्याए ९४ किलो सुन, सरकारले असुल्यो ९ करोड राजस्व

अखबार हब
२०७८ मंसिर २७, सोमबार १९:२१

काठमाडौँ । विदेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुई सातामा नेपाल भित्रिएका २ हजार ५२ यात्रुले ९४ किलो सुन ल्याएका छन् । विमानस्थल भन्सार कार्यालयको जाँचका क्रममा सो सुन बरामद भएको हो । बरामद भएको सुनमा राजस्व तिर्दै यात्रुले फिर्ता लैजाने क्रम जारी छ । यस्तो सुनबाट सरकारले करिब ९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख, प्रशासक महेश भट्टराईका अनुसार मंसिर १३ देखि २६ गतेसम्म विदेशबाट नेपाल आएका यात्रुबाट ९४ किलो सुन बरामद भएको हो ।

‘दुई सातामा १८ सय ९७ जना यात्रुले आफ्नो साथमा ल्याएको ८७ किलो ५ सय ग्राम सुन कानुनअनुसार भन्सार महसुल बुझाई फिर्ता लगिसकेका छन्’ उनले भने ‘यसबाट सरकारलाई ८ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भइसकेको छ ।’ बाँकी ६ किलो ५ सय ग्राम सुन भन्सारको लकरमा छ । यसबाट ६३ लाख रुपैयाँ राजस्व संकलन हुने अनुमान छ । यसले सरकारलाई राजस्वमा करिब ९ करोड योगदान पुग्ने उनले बताए । लकरमा भएको सुन आफूले डिपोजिट गरेको ६० दिनभित्रमा भन्सार महसुल बुझाई लान सकिने व्यवस्था छ ।

उनका अनुसार सरकारले गत मंसिर १३ देखि अवैध रुपमा भित्रिने सुनमाथि निगरानी बढाएको हो । निगरानीपछि हालका दिनमा सुन ल्याउने यात्रु संख्या र परिमाण उल्लेखनीय रुपमा घटेको छ । ‘पहिलो साता १५ सय ३० यात्रुबाट करिब ७३ किलो सुन नियन्त्रणमा लिइएकोमा दोस्रो साता ५ सय २२ यात्रुबाट २१ केजी बरामद गर्‍यौं,’ भट्टराईले भने, ‘भन्सार राजस्व तिराउने प्रयोजनले नियन्त्रणमा लिइएको जम्मा सुनको चलनचल्तीको बजार मूल्य करिब ७४ करोड पर्ने देखिन्छ । यसअर्थमा उक्त रकम बराबरको अनौपचारिक रुपमा आयात हुने सुन अब औपचारिक बजारमा प्रवेश गरेको छ ।’

भन्सार कार्यालयले यसरी सुन लिएर आउनेलाई तीन समूहमा वर्गीकरण गरेको छ । वैदेशिक रोजगारीमा गई स्वदेश फर्कदा व्यक्तिगत प्रयोजनका लागि सुन ल्याउने, पर्यटक भिसामा विदेश गई स्वदेश फर्कदा व्यक्तिगत प्रयोजनका लागि सुन ल्याउने र वैदेशिक रोजगारीबाट फर्कदा भरियाको रुपमा अन्य व्यक्तिको सुन लिएर फर्कने यात्रु भनी वर्गीकरण गरेको हो ।

‘सुरुका दिनमा तारलाई बाला हो भनी सुनका गहनाको सुविधा दाबी गर्ने बानीलाई हामीले नियमन गरी राजस्व तिराएर मात्र त्यस्तो सुन भित्र्याउन दियौं,’ उनले थपे, ‘पछिल्लो समय भने सुनको तारलाई ८/९ फन्को लगाएर बेरुवा औंठी भन्ने, स–साना टुक्रा बनाई आपसमा बाँधेर सिक्रीरब्रासलेट हो भन्ने र २५ ग्रामका सुनका मुन्द्रा जस्तो बनाएर ल्याउने अस्वभाविक प्रवृत्तिलाई भन्सार कार्यालयले राजस्व तिराएर मात्र जाँचपास गरिरहेको छ ।’

यसमा तपाइको मत

Your email address will not be published.


*