कांग्रेस मेलामा कम्युनिस्ट भेला

ओली र दाहालले साटे हार्दिकता,नेपालसँग भने उस्तै तिक्तता
अखबार हब
२०७८ मंसिर २५, शनिबार १०:५४

काठमाडौँ । डेढ सय जनाभन्दा बढी अटाउने महाधिवेशन आयोजनास्थलको मुख्य मञ्चमा कांग्रेस नेता र देश–विदेशका अतिथि भरिभराउ थिए । तर सबैको नजर तीन कम्युनिस्ट नेतामाथि थियो । ‘सबै अट्ने देश र सबैलाई जोड्ने कांग्रेस’ नारा बनाएको कांग्रेसको मञ्चमा थिए, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ।

ओली र दाहाल झन्डै एक वर्षपछि र ओली र नेपाल पाँच महिनापछि एउटै मञ्चमा उपस्थित भएका हुन् । यसबीचमा ओलीसँग दाहाल र नेपालको बोलचाल नै बन्द थियो ।

स्वास्थ्य समस्याका कारण ओली कांग्रेस महाधिवेशनमा जाने–नजाने शुक्रबार बिहानसम्म अनिश्चित थियो । दाहाल र नेपालभन्दा झन्डै एक घण्टा ढिला अर्थात् २ बजेर ५० मिनेटमा एमाले अध्यक्ष ओली मञ्चमा पुगेका थिए । ओली मञ्चमा उक्लँदा नेपालले हात जोडेको देखिएको थियो । ओली नमस्कार गर्दै अघि बढ्दा नेपालका आँखा भुइँतिर सोझिएका थिए । दाहाल अर्कातिर फर्के, हात भने जोडे ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको दायाँतिर दाहाल, नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्त ठाकुरसहितका नेता थिए भने बायाँतिर ओली, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, माले महासचिव सीपी मैनालीलगायत नेता थिए । कार्यक्रम अवधिभर ओली, दाहाल र नेपालबीच हेराहेर पनि खासै भएन । भावी नेतृत्व चयनलाई लिएर कांग्रेसभित्र समूहगत शक्तिसंघर्ष भइरहँदा महाधिवेशनस्थलमा उपस्थित नेता–कार्यकर्ताले ओली, दाहाल र नेपालको हाउभाउ र सम्बोधनमा चासो राखेका थिए ।

ओली, दाहाल र नेपालले सम्बोधनमा केही घोचपेच गरे । तर ओलीले दाहाल र नेपालको तथा दाहाल–नेपालले ओलीको नाम लिएनन् । राष्ट्रियता र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्तिमा भने ओली, दाहाल र नेपालको समान धारणा थियो । लोकतन्त्र, संविधानको रक्षा र विकासमा सहकार्यका लागि एकले अर्कालाई अपिल पनि गरे ।

संसद्को चौथो ठूलो शक्ति एकीकृत समाजवादीका अध्यक्ष नेपालको शुभकामना दिने पालो पाँचौं नम्बर (नेपालका राजनीतिक दलमध्ये) मा थियो । उनी सम्बोधनका लागि पोडियमतर्फ जाँदै गर्दा दर्शकदीर्घाबाट उनका पक्षमा ‘हुटिङ’ भयो । त्यसपछि ओली बसाइको ‘पोजिसन’ परिवर्तन गर्दै मुसुमुसु हाँसे । नेता नेपालको पहिलो निसानामा राजतन्त्रका पक्षधर राप्रपा अध्यक्ष लिङ्देन परे ।

मुलुकमा राजतन्त्रको खाँचो रहेको लिङ्देनको अभिव्यक्तिमा नेपालले चेतावनी दिँदै भने, ‘नेपालको राजनीतिमा कालो बादल मडारिन खोजिरहेको छ । सावधान भन्न चाहन्छु । प्रतिगामी तत्त्वहरूले फेरि शिर उठाउने दुस्साहस नगर्नुस् । नेपालमा राजतन्त्रको कुनै भविष्य छैन । कुनै सम्भावना छैन । नेपाली जनता फेरि ज्वालामुखीझैँ मेचीदेखि महाकालीसम्म विस्फोटका रूपमा अघि बढ्नेछन् । पूर्वराजाले पनि एउटा पार्टी खोले हुन्छ । होइन भने एउटा व्यापार गरेर बसे हुन्छ । एउटा वंशको शासन हामीलाई स्वीकार्य छैन । नेपालको रक्षा नेपाली जनताले गर्न सक्छौँ ।’

त्यसपछि नेपालले नामै नलिई ओलीको नियत र कायैशलीमाथि प्रहार गरे । ‘हाम्रो राजनीतिमा धेरै विकृति छन् । पार्टीभित्र पनि छन्, राज्यसत्तामा पनि छन्, ती विकृतिलाई पन्छाउनुपर्छ । विकृत्तिका बाहकले विकृति फैलाइराख्ने, हामी टुलुटुलु हेरेर बस्ने कुरा स्वीकार्य हुन सक्दैन,’ उनले भने, ‘त्यो विकृति सुरु हुन्छ भ्रष्टाचारबाट, सत्ताको दुरुपयोग गर्ने प्रवृत्तिबाट, मैमत्ती गर्ने, लोकतन्त्रको मूल्य–मान्यतालाई कुल्चिने प्रवृत्तिबाट, अरूको सम्मान नगर्ने, अरूको मर्यादा नगर्ने प्रवृत्तिबाट । साँचो अर्थमा हामी लोकतन्त्र चाहन्छौं भने लोकतन्त्रका मूल्य–मान्यतालाई आत्मसात् गर्नुपर्छ ।’

नेपालपछि माओवादी केन्द्रका अध्यक्ष दाहालको पालो थियो । दाहालले पनि सुरुमै राप्रपा अध्यक्ष लिङ्देनमाथि प्रहार गरे । निरकुंशता र तानाशाही जन्माउने षड्यन्त्रका रूपमा लिङ्देनले नेतामाथि गलत व्याख्या गरेको दाहालको आरोप थियो । ‘नेताहरू आए भने अहिले गाउँघरमा चोर आयो भन्छन् भनेको सुन्नुभयो । यो साँचो हो त साथीहरू ?’ दाहालले प्रश्न गर्दा हो र होइन भन्ने दुवैथरी आवाज दर्शकदीर्घाबाट सुनिएको थियो । त्यसपछि दाहालले आफैं उत्तर दिँदै भने, ‘होइन । गलत हो । यो केको निम्ति भनियो ? जतिबेला लोकतन्त्र र शान्तिका निम्ति संघर्ष गरेका राजनीति दल र नेताहरूलाई बदनाम गर्न खोजिन्छ त्यहाँ निरंकुशता र तानाशाही जन्माउने षड्यन्त्र हो भनेर बुझ्न जरुरी हुन्छ । कहीँ न कहीँ तानाशाही त्यसरी नै आउने गर्छ । त्यसकारण हामी सतर्क हुन जरुरी छ ।’

दाहालले सत्ता सञ्चालनबारे दल र नेताहरूले समीक्षा गर्नुपर्ने बेला आएको बताए । ‘आन्दोलनका बेला जनताका अगाडि जे प्रतिबद्धता गरेका हुन्छौं, सत्तामा पुगेपछि त्यसैअनुसार व्यवहार गर्न सकेका छैनौं । हामी सबैले आत्मसमीक्षा गर्नुपर्ने बेला छ,’ उनले भने । ओलीले प्रतिनिधिसभा विघटन गरेर देशलाई गलत दिशातिर लैजान खोजेको संकेत गर्दै दाहालले भनेका थिए, ‘देशमा असहज परिस्थिति आउने पो हो कि रु हजारौंले दशकौं लगाएर गरेको बलिदान र संघर्षबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै आँच आउने हो कि भन्ने प्रश्न खडा भएका छन् । गतसालदेखि नै हामीले त्यस्ता खालका संकेत र प्रवृत्ति देख्यौं । अहिले पनि त्यस खालका कहीँ न कँही खतरा मडारिराखेका नै छन् ।’

दाहालले एक्लै हिँड्न खोज्दा ओलीको यात्रा ओरालो लागेको टिप्पणी गरे । ओलीको नामै नलिई उनले थपे, ‘हामी एक्लै हिँड्ने अहंकार कसैले नगरौं, हामी मिलेरै हिँड्ने हो । राजनीतिक प्रतिस्पर्धा गरे पनि त्यो प्रतिस्पर्धाभित्र एकता खोजिराख्नै पर्ने हुन्छ । अहिले जे सफलता भनेका छौं, एकता र गठबन्धनबाट प्राप्त भएको हो । त्यसैले एक्लै हिँड्ने अहंकार गर्नेको ओरालो यात्रा सुरु भयो भन्ने कुरा नेपालको इतिहासले देखाएको छ । देशको विकास र सुशासनका लागि कांग्रेसले उचित नीति निर्धारण गरोस् ।’

दाहालले भाषण सुरु गर्नुअघि नै एकीकृत समाजवादीका अध्यक्ष नेपाल कार्यक्रम स्थलबाट बाहिरिइसकेका थिए । दाहालपछि शुभकामना दिन एमाले अध्यक्ष ओली पोडियम पुगे । कार्यक्रम सञ्चालक विश्वप्रकाश शर्माले ओलीलाई शुभकामना दिन पोडियममा बोलाउँदा सहभागीबाट ‘हुटिङ’ भएको थियो ।

मुसुमुसु हाँस्दै पोडियममा पुगेका ओलीले ‘विभिन्न दलबाट आएका नेताहरू’ भनेर ओलीले समग्रमा दाहाल र नेपाललाई पनि सम्बोधन गरे । प्रधानमन्त्री देउवालाई पूर्वप्रधानमन्त्रीका रूपमा सम्बोधन गरेका ओलीले सुरुमै कसैको प्रतिवाद गर्ने मनस्थितिमा नरहेको सुनाए । ‘कसैको कुरामा वादप्रतिवाद वा केही गरिरहन चाहन्नँ । म शुभकामना दिन आएको हुँ,’ उनले भने, ‘मेरो राजनीति म आफ्नै मञ्चहरूमा पर्याप्त गर्न पाउँछु । मलाई मञ्चहरूको कमी छैन ।’ त्यसपछि ओलीले विगतका आन्दोलनमा कांग्रेस र एमालेको भूमिका रहेको उल्लेख गर्दै माओवादी अध्यक्ष दाहालको भूमिका नजरअन्दाज गरे । उनले कांग्रेससँग सहकार्य गर्न आफू तयार रहेको पनि सुनाए । ‘देशको राजनीति, अर्थतन्त्र, सामाजिक विकास, संस्कृतिको रक्षा र सम्वर्द्धन गर्ने, सही बाटोमा लैजाने अभिभारा कांग्रेस र एमालेको काँधमा छ । यी अभिभारामा नेपाली कांग्रेसका साथसाथै अगाडि बढ्न एमाले अहिले पनि तयार छ ।’

ओलीले राप्रपा अध्यक्ष लिङ्देनको अभिव्यक्तिको आलोचना गरे । ‘जन्मँदै शासक भएर जन्मने सिद्धान्त संयुक्त राष्ट्रसंघको मान्यताविपरीत छ । यो नागरिक स्वाभिमानको विपरीत छ । हरेक नेता चोर हुन्छ भन्नेजस्ता कुरा बोकेर हिँड्ने ?’ उनले भने, ‘हुन त भर्खर–भर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरूलाई । भरखर–भरखरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ ।’ ‘एक्लै हिँड्ने अहंकार नगर्न’ भन्ने दाहालको भनाइको पनि ओलीले जवाफ दिए । ‘केही साना दलहरूलाई कांग्रेसले औंलो समाउन दिएन भने के हो भन्ने पीर छ, सँगै जानुपर्छ, सँगै जानुपर्छ भनेको सधैं सुन्छु । सरकारमा मात्रै हो कि देश बनाउन सँगै जाने हो रु देश बनाउन सँगै जाने कुरामा एमाले सँगै छ । सरकारबाट हट्नुपर्ने हो कि भन्ने कतिपयलाई चिन्ता होला ।’

ओलीले सम्बोधन गरिरहँदा माइक बन्द भयो । त्यसपछि उनी ‘मैले शेरबहादुरजीलाई छाडिदिएँ’ भन्दै बिदा भए । त्यसपछि आफ्नो स्थानमा गएका ओली र दाहालबीच हार्दिकता देखियो । उनीहरूबीच संवाद भयो । लगत्तै दाहाल देउवा र ओलीसँग हात जोडेर नमस्कार गर्दै मञ्चबाट निस्किए । लगत्तै प्राविधिक समस्या हल भयो । सञ्चालकले सम्बोधनलाई निरन्तरता दिन ओलीलाई आग्रह गरे । ओली सम्बोधन सुरु गरे । तर जाँदाजाँदै भने, ‘हामी राष्ट्र निर्माणमा एकजुट भएर अगाडि बढ्नुपर्छ । नेपाली कांग्रेस सबैलाई साथ लिएर चलोस्, मेरो कुनै आपत्ति छैन । तर कांग्रेस अरूका नीतिका पछाडि होइन, आफ्ना नीतिमा अरूलाई हिँडाओस् । शेरबहादुरजी प्रधानमन्त्री मात्रै होइन, सरकारको नेता हुनुस् भन्ने शुभकामना छ ।’

गत वर्ष फागुन २३ मा सर्वोच्च अदालतले नेकपालार्ई एकतापूर्वको अवस्थामा पुर्‍याइदिनुअघि एउटै पार्टीमा ओली र दाहाल अध्यक्ष तथा नेपाल वरिष्ठ नेता थिए । गत भदौ ९ मा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता हुनुअघि नेपाल एमालेका वरिष्ठ नेता थिए । दाहाल र नेपालका दल कांग्रेससँगै पाँचदलीय गठबन्धन बनाएर सत्तामा पुगेका छन् । ओली अहिले प्रमुख प्रतिपक्ष दलका नेता छन् । ओलीले दाहाल र नेपालमाथि तथा नेपाल र दाहालले ओलीमाथि हरेक कार्यक्रममा कटाक्ष गर्दै आएका छन् ।

तत्कालीन प्रधानमन्त्री ओलीले गत वर्ष पुस ५ मा पहिलोपटक प्रतिनिधिसभा विघटनको निर्णय गर्नुअघि दाहाल भेटका लागि बालुवाटार पुगेका थिए । त्यसपछि दुई नेता एउटै मञ्चमा देखिएका थिएनन् । उनीहरूबीच भेटसमेत भएको थिएन । दुई साताअति एमाले महाधिवेशनको उद्घाटन समारोहमा उनीहरूबीच भेट हुने मौका थियो । एमाले महाधिवेशनको पूर्वसन्ध्यामा कान्तिपुरसँगको अनौपचारिक कुराकानीमा ओलीले भनेका थिए, ‘उहाँ (दाहाल) लाई निम्ता गरिएको छ । एकपटक हेर्नुछ, कस्तो हुनुभएछ ।’ तर दाहाल एमाले महाधिवेशन उद्घाटन समारोहमा गएनन्, पार्टी नेता लीलामणि पोखरेललाई पठाए । विभाजनप्रति रुष्ट एमालेले एकीकृत समाजवादीलाई महाधिवेशन उद्घाटन समारोहमा निमन्त्रणा नै गरेको थिएन । एमाले विवाद उत्कर्षमा पुगेका बेला ओली र नेपालबीच पछिल्लोपटक असारमा भेट भएको थियो ।

कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहको मञ्च ओली–दाहाल र ओली–नेपालबीच सम्बन्ध सुधारको खुड्किलो बन्ला कि भन्ने अपेक्षा धेरैको थियो । तर तीनै जना नेताहरूको मनोविज्ञान त्यसका लागि अझै तयार भएजस्तो देखिएन । कान्तिपुर दैनिकबाट साभार

यसमा तपाइको मत

Your email address will not be published.


*