नेपालमा अहिलेसम्म कतिले लगाए कोरोनाविरुद्धको खोप ?
काठमाडौँ । कोरोना भाइरस विरुद्धको कोभिशिल्ड खोपको थप ६ लाख मात्रा बुधबार नेपाल आएको छ। कोभ्याक्स सुविधाअन्तर्गतको खोप कतार एयरवेजबाट बुधबार नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए।
उनका अनुसार यो खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ । बुधबार आएको सँगै नेपालमा अहिलेसम्म दुई करोड ७८ लाख मात्रा खोप आइसकेको छ।
यसैबीच आज अमेरिकाबाट मोडर्ना खोप नेपाल आउँदैछ । १४ लाख मात्रा मोर्डना खोप आज नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइन्छ । सरकारले बालबालिका लागि ४० लाख मात्रा मोडर्ना र ६० लाख मात्रा फाइजर खोप खरिद गरी पुस १५ गतेसम्म ल्याउने तयारी गरेको छ।
नेपालमा अहिलेसम्म ८८ लाख भन्दा धेरैले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।समिरकुमार अधिकारीका अनुसार खोपको पहिलो मात्रा लगाउनेको संख्या एक करोड पाँच लाख पुगेको छ। नेपालको कूल जनसंख्याको २८ प्रतिशतले पूर्ण र ३४ प्रतिशतले पहिलो डोज खोप लगाएका अधिकारीले जानकारी दिए।
आजभोलि हरेक दिन सरकारले ५० देखि ६० हजार नागरिकलाई कोरोनाविरुद्धको खोप दिइरहेको छ।
अधिकारीका अनुसार अहिलेसम्म नेपालमा दुई करोड ७३ लाख डोज खोप आइसकेको छ। करिब साढे तीन करोड डोज खोप पाइपलाइनमा छ।







