मोटरसाइकल चोरी गर्ने गिरोहका ७ जना पक्राउ
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरेर बिक्री वितरण गर्ने गिरोहलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले काठमाडौंका विभिन्न स्थानमा विशेष अपरेसन सञ्चालन गरी मोटरसाइकल चोरी गर्ने, डिस्मेन्टल गर्ने र बिक्रीवितरण गर्ने समूहका ७ जनालाई पक्राउ गरेको हो ।
टोलीले रौतहट चन्द्रनिगाहापुर–९, सन्तपुर घर भई हाल कीर्तिपुर बस्ने १९ नरकुमार पुडासैनीलाई गत वर्षको माघमा बानेश्वरबाट हराएको प्र ३–०२–०१३प ३६६० नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरी चलाइरहेको अवस्थामा पशुपति क्षेत्रबाट पक्राउ गरेका हो ।
थप अनुसन्धानका क्रममा न्युरोडबाट जुम्ला सिँजा गाउँपालिका–६ हाल कीर्तिपुर बस्ने वर्ष २० को पुन्दलाल बुढालाई मोटरसाइकलसहित पक्राउ गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
यही मंसिर ८ गते बत्तिसपुतलीबाट हराएको बा.प्र.०२–०२२प ६५१८ नम्बरलाई परिवर्तन गरी बा.प्र–०२–०२५प १३९१ प्रयोग गरेको अवस्थामा मोटरसाइकलसहित बूढा पक्राउ परेका हुन् ।
कीर्तिपुर क्षेत्रबाट २२ को सन्तोष महर्जनसहित रौतहट गुजरा–२ घर भई हाल सानोभर्याङ बस्ने वर्ष ३४ को ज्ञानेन्द्र चौधरी, रौतहट गुजरा–३ घर भई हाल बानेश्वर बस्ने वर्ष ३२ को रविकुमार कुशवाहा, उदयपुर घर भई हाल कीर्तिपुर बस्ने कमलबहादुर बस्नेत र बारा गढिमाई घर भई कीर्तिपुर बस्ने वर्ष २२ को रन्जितप्रसाद गुप्तालाई पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
पक्राउ परेका चौधरी यसअघि पनि मोटरसाइकल चोरीमा कारवाही भोगेका व्यक्ति हुन् । रौतहटका चौधरी र कुशवाहा मोटरसाइकल चोरी गिरोहका मुख्य व्यक्ति रहेको समेत अनुसन्धानबाट देखिएको एसएसपी भट्टराईले जानकारी दिए । त्यसैगरी कीर्तिपुरबाट पक्राउ परेका रञ्जितप्रसाद गुप्ताले चोरी गरी ल्याएका मोटरसाइकलहरूलाई ग्यारेजमा सुरक्षित राख्ने, सामानहरु डिस्मेन्टल गर्ने र फेरबदल गर्ने गरेको समेत देखिएको भट्टराईको भनाइ छ ।
गुप्ता कीर्तिपुरमा रहेको रञ्जित मोटरसाइकल वर्कसपका सञ्चालकसमेत रहेको खुल्न आएको महाशाखाले जनाएको छ । पक्राउ परेका गुप्ता र सन्तोष महर्जनले ग्राहकहरू खोज्ने र सस्तो मूल्यमा मोटरसाइकलहरू किनबेच गर्ने मुख्य भूमिकासमेत खेल्ने गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले बताएको छ ।
बरामद गरेका ७ थान मोटरसाइकलमध्ये एउटा यामाहाको आरफिफ्टिन र अन्य ६ वटा २२० सीसीको पल्सर मोटरसाइकल रहेको महाशाखाले जनाएको छ । त्यस्तै गरी इन्जिन तथा विभिन्न भागहरू काटेर टुक्रा पारेको अवस्थामा असोजमा ताहाचलबाट हराएको बा.प्र.०२–०१९प ९४९८ नम्बरको २२० सीसी पल्सर मोटरसाइकलसमेत बरामद गरेको महाशाखाले जानकारी दिएको छ ।
पक्राउ गरिएको मोटरसाइकल र चोरीमा संलग्नहरूलाई आवश्यक कारवाहीको लागि विभिन्न महानगरीय प्रहरी वृत्तहरूमा पठाइएको महाशाखाले जनाएको छ ।







