हेटौंडाको हुप्रचौरमा यस्तो बन्दैछ बहुउद्देश्यीय १३ तले भवन
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्रचौरमा १३ तलाको बहुउद्देश्यीय भवन निर्माण गर्नका लागि आज सम्झौता गरिएको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको रोहबरमा प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई र लामा, रसुवा, बानियाँ जेभीका संचालक ऋशी बानियाँका बिचमा सम्झौतामा आज हस्ताक्षर गरिएको हो ।
कूल ७७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागत अनुमान गरेर ठेक्का आह्वान गरिएकोमा ४७ करोड ९३ लाख रुपैयाँ ७२ हजार रुपैयाँ लागतमा लामा, रसुवा, बानियाँ जेभीले ठेक्का सकार गरेर आज सम्झौता गरिएको हो ।
हेटौंडामा सबैभन्दा धेरै रकम लगानीमा हेटौंडाको बसपार्कमा बस टर्मिनल, थानाभर्याङमा तरकारी थोक बजार र आज सम्झौता गरिएको बहुउद्देश्यीय भवन निर्माण गर्न लागिएको मेयर हरिबहादुर महतले बताए।
उपमहानगरपालिकाको ठूलो लगानी भएका तीन वटा भवनमध्ये र्दुइ वटाको काम भइरेको छ । अर्को बहुउद्देश्यीय भवन भने आज सम्झौता गरिएको मेयर महतले जानकारी दिए । तरकारी थोक बजार प्रदेश सरकार र उपमहानगरपालिकाको लगानीमा निर्माण गरिएको हो भने अरु र्दुइवटा भवन भने उपमहानगरपालिकाले आफ्नै लगानीमा निर्माण गर्न लागेको उनले बताए।
हुप्रचौरमा निर्माण हुन लागेको बहुउद्देश्यीय भवन भ्याट र कन्सल्टेन्सीसहित ९६ करोड ३५ लाख ४४ लाख रुपैयाँ लागत निस्किएको थियो । त्यस बाहेकमा ठेक्का आह्वान गर्दा ७७ करोड ७६ लाखमा लागत अनुमान गरिएको थियो । कूल लागतमा ३८ दशमलब २८ प्रतिशत घटेर लामा, रसुवा, बानियाँ जेभीले ठेक्का प्राप्त गरेको छ ।
१३ तले भवनमा दुइ तलाको अण्डरग्राउण्ड, चारतिरबाट लिफ्ट, र्दुइ वटा भर्याङ, सबै भन्दा माथी भ्यूटावर निर्माण गरिने उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईले बताए । व्यापारिक भवनको सबैभन्दा माथि भ्यूटावरबाट हेटौंडा र आसपासको क्षेत्र सहज रुपमा हेर्न सकिने छ ।
तीन वर्षमा काम सक्नेगरी ठेक्का दिइएको उपमहानगरपालिकाका योजना महाशाखाका प्रमुख सत्यनारायण शाहले बताए। उपमहानगरपालिकाबाट लिएको काममा गुणस्तर कायम गर्दै समयमा नै सकाउने लामा, रसुवा, बानियाँ जेभीका संचालक ऋसी बानियाँले बताए ।







