टिपरको ठक्करबाट बाबु–छोराको घटनास्थलमै मृत्यु, अटो रिर्जभमा परिवारै जाँदै थिए मन्दिर दर्शन गर्न

अखबार हब
२०७८ मंसिर २०, सोमबार १७:२५

दाङ । प्युठानमा टिपरले अटोलाई ठक्कर दिँदा बाबु–छोराको घटनास्थलमै मृत्यु भएको छ भने थप तीन जना घाइते छन्।

जिल्लाको प्युठान नगरपालिका वडा नं. ३ घुर्चनेका ४२ वर्षीय अमृत लाल थापा र उनका ५ वर्षीय छोरा सुशान्त थापाको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाका अनुसार दुर्घटनामा परी ३४ वर्षीय पुनम थापा, ११ वर्षीय दुर्गा थापा र १३ वर्षीय सुस्मा थापा घाइते छन्।

घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको डिएसपी थापाले बताए।

घाइते र मृतक एकै घर परिवारका व्यक्ति हुन्।

प्रहरीका अनुसार उनीहरू अटो रिजर्भ गरी स्वर्गद्वारी मन्दिरको दर्शन गर्न भनेर जाँदै गरेका थिए।

दाङबाट इँट्टा बोकेर प्युठानतर्फ जाँदै गरेको ना ८ ख ३९०३ नम्बरको टिपरले सोमबार दिउँसो १ बजेतिर रा १ ह ७५०७ नम्बरको अटोलाई ठक्कर दिँदा उक्त घटना भएको प्रहरीले जनाएको छ।

टिपरले अटोलाई प्युठानको माण्डपी गाउँपालिका वडा नं. ५ को चकचके– चरनेटा सडकखण्डमा ठक्कर दिएको प्रहरीले जनाएको छ।

टिपर र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*