काँग्रेस अधिवेशनः उम्मेदवारको अन्तिम नामावली साँझ ६ बजे प्रकाशन गर्ने
मकवानपुर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हेटौंडामा जारी बागमती प्रदेश अधिवेशनमा उम्मेदवारको अन्तिम नामावली शुक्रबार साँझ ६ बजे प्रकाशन हुने भएको छ ।
बागमती प्रदेश निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको सूचना अनुसार दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, २ बजेदेखि ३ बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने, दिउँसो ३ः३० बजेसम्म त्यस्ता दाबी विरोध उपर निर्णय गर्नका लागि समय निर्धारण गरिएको छ ।
दिउँसो ३ः३० देखि ४ बजेसम्म उम्मेदवारको वर्णानुक्रमअनुसार नाम प्रकाशित गर्ने, साँझ ५ बजेदेखि ५ः३० बजेसम्म मनोनयन फिर्ता लिने र साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाइएको छ ।
नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि भने शनिबार बिहान ९ देखि दिउँसो ४ बजेसम्मको समय निर्धारण गरिएको छ ।








