नेपाली कांग्रेस प्रदेशको अधिवेशन हेटौंडामा सुरु
मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत् वाग्मती प्रदेशको प्रथम अधिवेशन विहीबारबाट हेटौंडामा सुरु भएको छ ।
हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा सुरु भएको महाधिवेशनको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट गरेका थिए । उनले महाधिवेशन सुरु भएको औपचारिक घोषणा गरेसँगै उद्घाटन सत्र सुरु भएको थियो । कांग्रेस केन्द्रीय सदस्य तथा वाग्मती प्रदेश संयोजक प्रकाशमान सिंहको सभाध्यक्षतामा भएको उद्घाटन सत्रमा कांग्रेस सह–महामन्त्री प्रकाशशरण महत, पूर्वमन्त्री एवम कांग्रेस नेता राजन केसी, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीना, कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रहादुर बानियाँलगायत आफ्नो भनाइ राखेका थिए ।
अधिवेशनमा १३ जिल्लाका १ हजार ९६० अधिवेशन प्रतिनिधिहरुको सहभागिता रहेको छ । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछन् । प्रदेश सभापतिका लागि देउवा पक्षबाट वाग्मती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका निवर्तमान सभापति जगदीश्वर नरसिंह केसी र नेता कृष्णप्रसाद सिटौला पक्षबाट काठमाडौं जिल्लाका पूर्वसभापति एवम् पूर्वरक्षामन्त्री भीमसेन दास प्रधानको उम्मेदवारी रहने चर्चा रहेको छ ।
अधिवेशनमा शुक्रबार नेतृत्व चयनका लागि मनोनयन दर्ता हुने कार्यक्रम छ भने १८ गते मतदानको कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ । प्रदेश अधिवेशनले एक सभापति, दुई उप–सभापति, दुई महामन्त्री र एक महिलासहित तीन सह–महामन्त्री र सदस्यहरुसहित नयाँ नेतृत्व चयन गर्नेछ ।







