काँग्रेस बागमती प्रदेश अधिवेशन आजबाट हेटौंडामा सुरु,त्रीपक्षीय भिडन्तको सम्भावना
मकवानपुर । काँग्रेस बागमती प्रदेश अधिवेशन हेटौँडामा आज देखि सुरु हुँदैछ । प्रदेश अधिवेशन समितिका संयोजक प्रकाशमान सिंहका अनुसारका अधिवेशनका लागि बागमती प्रदेशका सबै जिल्लाबाट महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि हेटौँडा आउँने क्रम जारी छ ।
काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बागमती प्रदेशको अधिवेशन हेटौंडाको वनविज्ञान अध्ययन संस्थानको कम्पाउण्डमा आज बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ। बागमती प्रदेशमा काँग्रेसका एक हजार ९६० मतदाता छन् । प्रदेश कार्यसमिति पदाधिकारीसहित ८१ सदस्यीय हुन्छ । त्यसमा हरेक जिल्लाबाट एक पुरुष र एक महिला अनिवार्य हुन्छ । २२ जना खुला र २६ जना समानुपातिक सदस्य रहने छन् ।
प्रदेश सभापतिमा देउवा पक्षबाट मकवानपुर जिल्ला सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै कृष्णप्रसाद सिटौला समूहबाट काठमाडौँ जिल्लाका पूर्वसभापति तथा पूर्व रक्षामन्त्री भीमसेन दास प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । यता नेपाली काँग्रेस बागमती प्रदेश सभापतिको उम्मेदवारमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जगदीश्वरनरसिंह केसीको नाम अगाडि सारेको छ ।







