सर्वोच्च अदालतमा आजबाट गोला प्रक्रियाबाट पेसी तोकिँदै
काठमाडौं । सर्वोच्च अदालतमा आजबाट गोला प्रक्रियाबाट पेसी तोकिने भएको छ । गोला प्रक्रियाबाट पेसी तोकिने भएसँगै प्रधानन्यायाधीशको तजविजी अधिकार कटौती हुनेछ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा स्वेच्छाचारी भएको र ‘सेटिङ’मा इजलास गठन गर्ने गरेको आरोपमा बारले गोला प्रक्रियाबाट पेसी व्यवस्थापन गर्न माग गरेको थियो । सोही माग अनुसार आजबाट गोला प्रक्रियाबाट पेसी तोकिने छ ।
गत साउनमा न्यायाधीश हरिकृष्ण कार्कीले पेश गरेको प्रतिवेदनले अल्पकालीन रुपमा गोलाप्रक्रिया र दीर्घकालीन रुपमा स्वचालित पेशी प्रक्रिया अपनाउन सुझाव दिएको थियो । सर्वोच्च अदालतको पूर्ण बैठकले प्रतिवेदन स्वीकृत गरेको थियो ।
आजबाट विहान १० बजे सबै न्यायाधीशहरु भेला भई गोटी तानेर इजलास गठन गर्नेछन् । र, मुद्दाको समूह छानेर सुनुवाइको सुरुवात गर्नेछन् ।
यसैबीच, नेपाल बारका महासचिव लिलामणि पौडेलले सर्वोच्च अदालतमा आजबाट लागु हुन लागेको गोलाप्रथाको स्वागत गरेका छन् । मंगलबार प्रधानन्यायाधीशको राजीनामा माग गर्दै गरिएको प्रदर्शनपछि उनले जिल्ला र उच्च अदालतमा गोलाप्रथा लागु नभएकाले सो स्थानमा कालोपट्टी बाँधेर काम गर्ने बताएका छन् ।
पौडेलले प्रधानन्यायधिश गोला प्रथामा सहभागी भए उनको इजलासमा बहस नगर्न पनि अनुरोध गरे ।
नेपाल बारले सर्वोच्च अदालतमा गोलाप्रथा प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने कार्यको स्वागत गरेको छ । बारको सोमबार बसेको बैठकले उक्त कार्यको स्वागत गर्दै जिल्ला, उच्च र विशेष अदालतमा पनि गोलाप्रथा प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने व्यवस्था गर्न माग गर्ने निर्णय गरेको थियो ।
बारका महासचिव पौडेलले सर्वोच्च अदालतमा गत साउन १७ र जिल्ला, उच्च, विशेषमा यही मङ्सिर १ गतेदेखि लागु गर्ने भनिए पनि सोअनुसार नभएकाले सर्वोच्च अदालत नियमावली संशोधन गरी लागु गर्न सर्वोच्च अदालतको पूर्ण बैठकसँग माग गर्ने निर्णय गरिएको उल्लेख बताएका छन् ।
उक्त नियमावली संशोधन भई नआएसम्म विरोधस्वरूप जिल्ला, उच्च तथा विशेष अदालतमा कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना गरी बाँकी समयमा व्यवसाय गर्न, गराउन सम्पूर्ण एकाइलाई लेखी पठाउने बारले निर्णय गरेको पौडेलले बताएका छन् ।







