मानव सेवा आश्रमको १७ जिल्लामा २५ सेवा केन्द्र
मकवानपुर । हेटौंडाबाट सहयोगापेक्षी सडक आश्रीत व्यक्तिहरुलाई उद्धार गर्ने उद्देश्यले संचालनमा आएको मानव सेवा आश्रमले देशको ७ प्रदेशका १७ जिल्लामा २५ सेवा केन्द्र मार्फत् देशैभर सेवा संचालन गरेको छ ।
आज आश्रममा पत्रकार सम्मेलनको आयोजना गरी आश्रमका अध्यक्ष रामजी अधिकारीले सोको जानकारी दिएका हुन् ।
२०६९ सालदेखि मकवानपुर जिल्लाको हेटौंडाबाट ५ जना सहयोगापेक्षी सडक आश्रीत व्यक्तिहरुलाई उद्धार गरी सेवा सुरुवात गरेको आश्रमले ७ प्रदेशका २५ सेवा केन्द्र मार्फत १६ सय भन्दा बढी सहयोगापेक्षी सडक आश्रीत मानवहरुलाई सेवा प्रदान गरेको आश्रमका अध्यक्ष अधिकारीले बताए ।
हालसम्म २५ वटै सेवा केन्द्र मार्फत् आश्रमले ६ हजार २ सय ७५ जनालाई सेवा प्रदान गरिसकेको छ भने २ हजार ४ सय २५ जनालाई पारिवारिक पुनर्मिलन गराएको छ । त्यस्तै उपचारपश्चात् स्वइच्छाले १ हजार ६ सय ६७ जना आश्रमबाट बाहिरिएका छन् भने ६ सय ३४ जना आश्रममै रहँदा निधन भएका छन् । त्यसैगरी आश्रमले ३ सय ५४ जनालाई सामुदायिक पुनस्थापना गराएका छन् भने हाल १ हजार ५ सय ६७ जना आश्रममै आश्रीत छन् ।
नेपाललाई २०८२ सालभित्र सहयोगापेक्षी सडक मानवरहित नेपाल घोषणाका लागि आवश्यक सहकार्य एवम् संयन्त्र तयार पार्ने योजना रहेको समेत अध्यक्ष अधिकारीले बताए ।
आश्रमले आव २०७७/०७८ मा ३० करोड ९६ लाख ९८ हजार ७०३ रुपैयाको आर्थिक कारोबार गरेको छ । सात प्रदेशका प्रदेश सरकार, स्थानीय सरकार, केन्द्रीय सरकार र विभिन्न सरकारी कार्यालय, व्यक्तिबाटको सहयोग र अनुदानमा आश्रम संचालन भइरहेको छ ।
आश्रममा आश्रितलाई नेपाल सरकार (पन्जीकरण) बाट प्रतिव्यक्ति चार हजारको दरले रकम उपलब्ध भइरहेको जनाएको छ । आश्रमले बुधबार (भोलि) भोजनको लागि भोजन सन्ध्या कार्यक्रमको आयोजना गरेको छ । भजन सम्राट रेशम सापकोटा र तरेली संगीत कुञ्ज परिवारले भजन संगीत प्रस्तुत गरिएको आश्रमले जनाएको छ ।







