न्यायालय सुधारका लागि गठबन्धनको समान धारणा बनाउनु पर्छः बाबुराम भट्टराई

अखबार हब
२०७८ मंसिर ६, सोमबार १६:४०

काठमाडौं । सत्तारुढ गठबन्धन आवद्ध जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले न्यायालयमा देखिएको समस्या र नेपाल बार एसोसिएसनको आन्दोलनका विषयमा गठबन्धनले साझा धारणा बनाएर निकास खोज्नुपर्ने बताएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएर बर्खास्त गर्न माग गर्दै नेपाल बार एसोसिएसनका पदाधिकारीले सोमबार बुझाएको ज्ञापनपत्र बुझ्दै डा. भट्टराईले भने, ‘ तपाईंहरूले उठाएको आवाजमा सम्मान छ । सकेसम्म राज्यका अंग आफैँ हल गरून् भन्ने हो । गठबन्धनको साझा धारणा बनाउनुपर्छ । हाम्रो धारणा संरचनागत सुधार हुनुपर्छ भन्ने हो । यो कुरा गठनबन्धनमा राख्छौं । राजनीतिक दलको भूमिका हुनुपर्ने कुरामा पहल गर्छौं ।’

न्यायालयमा देखिएको समस्या संरचनात्मक समस्या रहेको भन्दै उनले अंशहरूमा भन्दा मूल समस्या कहाँ छ भन्ने हेर्नुपर्नेमा जोड दिए । कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोेजेको लगायतका आरोप लगाएर बार निरन्तर तीन साताभन्दा लामो समयदेखि आन्दोलित छ ।

यसअघि सोमबार नै बारले सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई जबरालाई महाअभियोग लगाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*