मकवानपुरको क्षेत्र नं २ ‘ख’ मा कालाखेतीको प्यानल घोषणा

अखबार हब
२०७८ मंसिर २, बिहीबार १९:५५

मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुरमा भोली शुक्रबार हुन लागेको क्षेत्रीय निर्वाचनका लागि जिल्लाको क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ मा रञ्जन कालाखेतीको प्यानल घोषणा भएको छ । बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै सभापति पदका दावेदार कालाखेतीले आफ्नो प्यानल घोषणा गरेका हुन् ।

उनको प्यानलबाट उपसभापतिमा भुवन नेगी ‘राजदुत’ र रामकुमार वाल्पा थिङ, सचिवमा नवराज पौडेल र कृष्ण योन्जन तथा सहसचिवमा गोपिलाल थिङ ‘प्रदीप’ र शालिकराम अधिकारी रहेका छन् । यस्तै उनको टिमबाट प्रदेश महाधिवेशन प्रतिनिधिमा खुलातर्फ निराजन बर्तौला, कृष्णहरि कालाखेती, निरशंकर लामा, कविता बर्तौला, बेलबहादुर मुक्तान, कान्छाराम रुम्बा र ज्ञानेन्द्र बर्तौला रहेका छन् भने खुला महिलातर्फ देवकी उप्रेती, यासिका घिसिङ र पद्मादेवी श्रेष्ठ, जनजातितर्फ सागर जिम्बा, निजन घलान र ठूलोकान्छा लामा, जनजाति महिलातर्फ संगीता थिङ र सीता बल, खसआर्यतर्फ जयन्ती पाठक, दलिततर्फ लोकबहादुर नेपाली र अल्पसंख्यकतर्फ विनोदकुमार प्रजा उम्मेदवार रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

क्षेत्रीय सभापतिका आकांक्षी कालाखेतीले कांग्रेसलाई आफ्नो क्षेत्रमा १ नम्बरको पार्टी बनाउने योजनाका साथ टिम निर्माण गरेर अघि बढेको बताए । ‘यस क्षेत्रमा कांग्रेसले सधै हार ब्यहोर्दै आएको छ । यसअघिको निर्वाचनमा पार्टी सभापतिलाई प्रदेशसभा सदस्यमा जिताउन सफल भयौं’, उनले भने, ‘अब पार्टीले उठाएको उम्मेदवार जित्ने वातावरण बनाउनेछौं ।’ मकवानपुरको क्षेत्र नम्बर २ को ‘ख’ क्षेत्रको विकास र समृद्धिमा लागिपर्ने उनले प्रतिबद्धता जनाए । यस क्षेत्रमा ५४४ जना मतदाता रहेका छन् । पत्रकार सम्मेलनमा कांग्रेस सल्लाहकार भरत पराजुली, जिल्ला सदस्य नवराज उप्रेती, मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलासहितका नेताहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*