राजीनामा दिएर हिँडेका रसुवा कांग्रेसका निर्वाचन अधिकृत पक्राउ
काठमाडौँ । कांग्रेसको १४ औं महाधिवेशनका लागि रसुवामा निर्वाचन गराउन खटिएका निर्वाचन अधिकृत सुमन केसीलाई प्रशासनले नियन्त्रणमा लिएको छ । आफूले निर्वाचन गराउन नसक्ने भन्दै मंगलबारै केन्द्रीय निर्वाचन समितिमा राजीनामा बुझाएर काठमाडौं फर्कदै गरेका केसीलाई प्रहरीले बाटोबाटै पक्राउ गरी पुनः रसुवा फर्काएको हो ।
रसुवामा मंगलबार कांग्रेसको स्थानीय तहस्तरको निर्वाचन सम्पन्न भएको छ । शुक्रबार प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका छ । तर, निर्वाचन अधिकृत केसीले आफूले निर्वाचन गराउन असहज महसुस गरेको भन्दै मंगलबारै राजीनामा बुझाएका थिए । बुधबार बिहानै धुन्चेबाट हिँडेका उनी धादिङको खानीखोलाबाट पक्राउ परेका हुन् । रसुवा प्रशासनले धादिङ प्रशासनसँग समन्वय गरी केसीलाई प्रहरीले भ्यानमा राखेर धुन्चे फर्काएको छ ।
केसीका अनुसार रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले उनलाई फोन गरेर पुनः जिल्ला आउन भनेका थिए । त्यसपछि धादिङ प्रहरीसँग समन्वय गरी उनलाई प्रहरीले नियन्त्रणमा लिएर रसुवा लगेको हो । ‘यो कांग्रेसको निर्वाचन हो । निर्वाचन अधिकृतले केन्द्रीय निर्वाचन समितिमा राजीनामा बुझाइसकेपछि उनले काठमाडौं फिर्ता हुन पाउनुपर्ने हो । तर, प्रहरीले नियन्त्रण गरेर जिल्ला लगेको छ, ’ केन्द्रीय निर्वाचन समितिका एक पदाधिकारीले भने, ‘निर्वाचन गराउन सक्दिन भनेर राजीनामा दिएर हिँडेको मान्छेबाटै निर्वाचन गराउन खोजिएको हो कि के कारण हो ? फेरि दबाब दिएर प्रहरी नियन्त्रणमा लगिएको छ, यो शंकास्पद भयो ।’
उता प्रमुख जिल्ला अधिकारी नवराज जैसीले भने निर्वाचनका कागजातहरू हराएको उजुरी परेपछि निर्वाचन अधिकृत केसीको उपस्थितिले सहज हुने भएकाले फर्किन आग्रह गरेको बताए । ‘मैले फोन गरेर फर्किनुस् भनेको हुँ । पक्राउ गरेको होइन, ’ प्रजिअ जैसीले भने, ‘यहाँ सहायक निर्वाचन अधिकृतले कागजात हराएको उजुरी दिएका छन् । यता कागजात हराएको उजुरी पर्यो, उता निर्वाचन अधिकृत काठमाडौं फर्किनुभएछ ।’
प्रजिअ जैसीले केसीले प्रशासनलाई जानकारी नदिई काठमाडौं फर्किएको बताए । ‘उहाँ बिहानै निस्कनुभएछ, हामीलाई जानकारी भएन, ’ उनले भने, ‘सीसीटिभी फुटेजमा एक व्यक्तिले निर्वाचनका कागजातहरू लिएर हिँडेको देखिन्छ । कसले के उद्देश्यले ती कागजात लगेको हो ? त्यसको सोधीखोजीका लागि सहज होला भनेर उहाँलाई फर्काएका हौँ ।’







