एमालेकै सिको गर्दै माओवादी
काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पछिल्लो समय तथानाम गाली गर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनमा भने एमालेकै सिको गरेका छन् ।
आगामी पुस ११ देखि १३ गतेसम्म हुने महाधिवेशनमा माओवादीले एमालेकै सिको गर्दै समूह बनाएर उम्मेद्वारी दर्ता गर्न रोक लगाउने निर्णय गरेको छ । महाधिवेशनमा होमिएको माओवादीले एमालेको सिको गर्दै समूहगत उम्मेद्वारीमा रोक लगाएको हो । एमालेले विधानमै प्यानल बनाएर उम्मेदवारी दिन नपाइने व्यवस्था गरिसकेको छ ।
माअोवादीले महाधिवेशनका लागि गठित निर्वाचन समितिको कार्यालय बुधबार उद्घाटन गर्ने जनाएको छ । सात लाख हाराहारी कार्यकर्ताले जिम्मेवारी पाउने गरी माओवादीले महाधिवेशन प्रक्रिया थालेको निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए ।
निर्वाचन आयोगले प्रदेशमा सात जना, पालिकामा पाँच जना र वडामा तीन जनाको निर्वाचन समिति बनाएको छ । महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय नेतृत्व चयन गर्नेछ ।







