रौतहटमा भारतीय कार दुर्घटना, चार जनाको मृत्यु
रौतहट । रौतहटको चन्द्रनिगाहपुरबाट सदरमुकाम गौर जाँदै गरेको कार दुर्घटना हुँदा त्यसमा सवार ४ जना भारतीय नागरिकको मृत्यु भएको छ । गौर–चन्द्रनिगाहपुर खण्डको यमुनामाई गाउँपालिकास्थित झुन्खुन्वा चोकनजिक शनिबार राति भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । मृतक कसैको पनि सनाखत हुन सकेको छैन ।
राति करिब सवा १० बजेको समयमा यू.के.१२ सी २९०० नम्बरको भारतीय कार झुन्खुवा चौकदेखि उत्तरपट्टि रहेको पेट्रोलपम्प नजिक तीव्र गतिमा आइरहेको बेला अनियन्त्रित भई सडकपेटीभन्दा करिब २० मिटर तल पानीमा डुबेको थियो । त्यसपछि कारभित्र रहेका चारै जना बाहिर निस्कन पाएनन् । कारको सबै भाग पानीमा डुबेपछि भित्रका मानिसहरु निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
दुर्घटनाको केही समयपछि बम नहरनजिकै नियमित ड्युटीमा रहेको प्रहरीले दुर्घटनाको खबर थाहा पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट समेत थप मद्दत मागेर घटनास्थल पुगेर कारको सीसा फुटाएर भित्र रहेकाहरुलाई निकालिएको जिल्ला प्रहरीका डिएसपी नारायणप्रसाद चिमरियाले बताए ।‘कार भित्रका सबैको मृत्यु भएको छ । उनीहरुको सनाखात हुन सकेको छैन,’ उनले भने, ‘दुर्घटनाबारे अनुसन्धान हुँदै छ ।’
मृतक चारै जनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको छ । दुर्घटनामा परेको कारलाई क्रेनको सहायताले राति नै पानीबाट निकालेर जिल्ला प्रहरी लगिएको छ । प्रहरीले भारतीय सुरक्षाअधिकारीहरुसित समन्वय गर्न लागेको जनाएको छ ।







