मकवानपुरका सबै स्थानीय तहलाई भू–उपयोगी नक्सा
मकवानपुर । भू–उपयोग नीतिमा रहेर जिल्ला समन्वय समिति मकवानपुरले सबै १० वटै स्थानीय तहलाई भू–उपयोगसम्बन्धी नक्सा, डाटा र प्रतिवेदन बुझाएको छ । स्थानीय तहले आफुले भूउपयोग नीति निर्माण गर्न पाउने र त्यसको अधिनमा रहेर आफ्नो क्षेत्रभित्रका भूमीको बर्गीकरण, संरक्षण र सम्बद्र्धन गर्न सक्नेछ ।
त्यसका लागि शनिबार जिसस मकवानपुरले सम्बन्धित स्थानीय तहका प्रमुखलाई भू–उपयोगसम्बन्धी नक्सा, डाटा र प्रतिवेदन बुझाएको हो । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले एक कार्यक्रमका बीच भूमिको वर्गीकरणको आधारमा नापी विभागले तयार पारेको भू–उपयोगसम्बन्धी नक्सा, डाटा तथा प्रतिवेदन जिल्लाका १० वटै स्थानीय तहलाई हस्तान्तरण गरेका थिए ।
प्रतिवेदन हस्तान्तरण गर्दै प्रमुख खुलालले नापी सम्बन्धि नयाँ डाटाले स्थानीय तहहरुको गुरुयोजना निर्माण गर्न टेवा पुग्ने दाबी गरे । उनले योजनाबिनै भूमीको प्रयोगले खेतीयोग्य जमीन मासिनुका साथै प्राकृतिक विपद्को जोखिम बढेको भन्दै नापीको प्रतिवेदनले स्थानीय तहलाई राष्ट्रिय भू–उपयोग नीति अनुसार भूमीको प्रयोग गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
प्रमुख खुलालले प्रतिवेदनलाई राम्रोसंग अध्यन गरेर आ–आफ्नो स्थानीय तहमा भू–उपयोग निति लागु गर्नसमेत आग्रह गरेका छन् । प्रतिवेदनले कृषि, वन, आवास, व्यवसाय, सांस्कृतिक–पुरातात्विक, नदी, ताल तलैया क्षेत्रको व्यवस्थित संरक्षण तथा विकासका लागि महत्वपूर्ण आधार बनेको उनको भनाइ छ ।
राष्ट्रिय भू–उपयोग नीति अनुसार स्थानीय तहलाई भू–उपयोग नीति तथा कार्ययोजना बनाई कार्यान्वयन गर्न सहज हुने नापी विभागका प्रमुख नापी अधिकृत विकास कुमार कर्णले जानकारी दिए । स्थानीय तहलाई डिजिटल डाटासमेत उपलब्ध गराइएको छ । कार्यक्रममा जिसस मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, मकवानपुरका सबै स्थानीय तहका प्रमुख तथा उप–प्रमुख एवम् प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागिता थियो ।
राष्ट्रिय भू–उपयोग आयोजनाले जिल्लाका स्थानीय तहका बेग्लाबेग्लै प्रतिवेदन, नक्सा तयार गरेको छ । प्रतिवदेनमा १० वटै स्थानीय तहका वन, खेतीयोग्य जमीन, नदी, ताल तथा सिमसार, सार्वजनिक, निजी जमिनको तथ्याड्ढ समेटिएको छ ।







