भीमफेदी–कुलेखानी सडकखण्ड आजदेखि ३ दिन आंशिक बन्द

अखबार हब
२०७८ कार्तिक १३, शनिबार १०:५०

मकवानपुर । हेटौंडा–भीमफेदी–काठमाडौं मार्गको भीमफेदी–कुलेखानी खण्ड आजदेखि ३ दिन आंशिक समय बन्द हुने भएको छ । भीमफेदी–कुलेखानी खण्डको स्तरीकरण गर्ने कार्य अन्तिम चरणमा रहेको र उक्त कार्य पूरा गर्न आंशिक बन्द गर्न लागिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयको आग्रहमा जिल्ला प्रशासन कार्यालय मकवानपुर र ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अधिकारीको संयुक्त बैठकले शुक्रबार उक्त सडकखण्ड आंशिकरुपमा बन्द गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

निर्माण कम्पनिको मागअनुसार निर्देशनालयले आज (शनिबार)देखि कात्तिक १५ गते सोमबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गर्न सरोकारवालालाई प्रस्ताव गरेको थियो । प्रदेश सरकारले दुईखण्डमा ठेक्कामार्फत सडकको स्तरोन्नति गरिरहेको छ । उक्त सडकखण्डमा अहिले कालोपत्रे गर्ने कार्य बाँकी छ । एकतर्फी गरेर सडक सञ्चालन गर्न पनि सम्भव नदेखिएपछि सडक आंशिक रुपमा बन्द गरेरै काम गर्ने तयारी गरिएको हो ।

छोटो मार्गको रुपमा प्रयोग हुँदै आएको हेटौंडा–भीमफेदी–काठमाडौं मार्गको भीमफेदी–कुलेखानी खण्ड साँघुरो रहेकोले फराकिलो गरी स्तरीकरण गरेर दुईलेनको बनाइँदै छ । उक्त सडकखण्डको स्तरीकरण गर्ने कार्य अन्तिम चरणमा पुगेको पनि निर्देशनालयले उल्लेख गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*