भीमफेदीमा बौलाहा कुकुर आतंक,२ दिनमा १३ जना घाईते

अखबार हब
२०७८ कार्तिक ५, शुक्रबार १०:५५

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा पछिल्लो २ दिनमा एक बौलाहा कुकुरले आतंक मच्चाएको छ। बौलाहा कुकुरले भीमफेदी बजार, सुपिड, माथिल्लो ज्यामिरलगायतका गाउँहरुमा आतंकित बनाएको हो । बिहीबार प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीमा १३ जनाले उपचार गरेकोमा ३ जनालाई काठमाडौं रिफर गरिएको र उपचारपछि उनीहरु घर फर्केका छन् ।

काठमाडौं रिफर गरिएकामध्ये एक जनाको अवस्था गम्भिर रहेको बताइएको छ । कुकुरले टोकेको तर, सामान्य बीट लागेकोले स्वास्थ्य संस्थामा रेविजको ईन्जेक्सन लगाउन सम्पर्कमा आउन बाँकी संख्या एकिन हुन नसकेको गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले जानकारी दिइन् । ईलाका प्रहरी कार्यालय, ५ र ६ नम्वर वडा समिति, रेडक्रस भीमफेदी र स्थानीयको प्रयासमा पनि बौलाहा कुकुर नियन्त्रणमा लिन नसकिएको उपाध्यक्ष रानाको भनाइ छ ।

कुकुरहरु नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मी, स्थानीय बासिन्दालगायत सरोकारवाला निकायहरु समेत लागि परेको उपाध्यक्ष रानाले बताइन् । बौलाहका कुकुरहरुबाट सबै सचेत रहन र देखा परेमा सरोकार वाला निकायहरुलाई जानकारी गराउनका लागि गाउँपालिकाले सबै स्थानीय बासीहरुलाई सुचित गरिएको छ । साथै उक्त कुकुर बिहीबार साँझ भीमफेदी ५ तल्लो ज्यामिरेबाट अघाउटे, कालिनघाटतर्फ गएको स्थानीय बासिन्दाहरुले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*