नुवाकोट बस दुर्घटना : एकको मृत्यु, ३४ जना घर फर्किए

अखबार हब
२०७८ कार्तिक १, सोमबार २०:३१

नुवाकोट । नुवाकोटबाट काठमाडौंतर्फ जाँदै गरेको बस किस्पाङ गाउँपालिका–५ मनकामनामा दुर्घटना हुँदा घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएर उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको किस्पाङ–१ का रमेश तामाङको निधन भएको हो ।

३८ वर्षीय तामाङको उपचारका क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए । उनकाअनुसार गम्भीर अवस्थाका थप ९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते भएकामध्ये बाँकी आठजनाको त्रिशूली अस्पताल नुवाकोटमा उपचार भइरहेको छ । उनीहरूमध्ये अधिकांशको हात र खुट्टा भाँचिएकाले अवस्था क्रमशः सामान्य हँदै आएको उनले बताए ।

घाइतेमध्ये अन्य ३४ जना उपचारपछि आजै घर फर्किएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले जानकारी दिए ।

किस्पाङ गाउँपालिका–१ भाल्चेबाट त्रिशूली हुँदै काठमाडौँ जान लागेको बा ४ ख ५७६२ नम्बरको बस आज बिहान ११ बजे मनकामना आइपुग्दा ब्रेकले काम नगरेपछि दुर्घटनामा परेको थियो । यात्रुले खचाखच भरिएको केरुङ यातायात प्रालिको बस मनकामनाको धारापाखो भन्ने स्थानमा अनियन्त्रित भएर दुर्घटनामा हुँदा चालकसहित ५३ जना घाइते भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*