रामेछाप जीप दुर्घटना अपडेटः मृतक तीनै जनाको पहिचान खुल्यो

अखबार हब
२०७८ आश्विन १, शुक्रबार १२:५५

रामेछाप । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको जीप रामेछापमा दुर्घटना हुँदा ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ । विहीबार काठमाडौंबाट ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका जाँदै गरेको बोलेरो रामेछापमा दुर्घटना हुँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको थियो ।

प्रदेश नम्बर ३–०१–०२३–च–३५१३ नम्बरको जीप रामेछापको मन्थली नगरपालिका वडा नं ६ कुनौरीको बोक्से भिरबाट ६–७ सय मिटर तल तामाकोसी किनारमा खस्दा ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका वडा नं. ६ खिजिफलाटेका ३५ वर्षका लाक्पा शेर्पा, उनकी श्रीमती अन्दाजी ३२ वर्षकी फुर्वा शेर्पा र ३६ वर्षका वाङछु शेर्पाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशङ्कर श्रेष्ठले बताए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मृतक दम्पतीका छोरा पेम्बा शेर्पाको रामेछापको मन्थलीमा रहेको तामाकोसी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु भएका लाक्पा शेर्पा पोर्चुगलबाट घर फर्किदै थिए भने वाङछु शेर्पा बोलेरो धनी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*