पाहा मार्न गएका भीमफेदीका २ जना मृत फेला
मकवानपुर । पाहा मार्न गएका मकवानपुरको भीमफेदी गाउँपालिकाका २ जना युवा मृत अवस्थामा फेला परेका छन् । भीमफेदी गाउँपालिका–५ का २२ बर्षीय नवीन दोङ र २१ बर्षीय राजन दोङ मृत अवस्थामा फेला परेको छ ।
बुधबार भीमफेदी–५ स्थित धुन्धुरे खोलामा उनीहरु दुवै जना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीको टोली घटनास्थल पुगेर उनीहरुको शवलाई खोलाबाट निकालेको थियो । उनीहरु मंगलबार राति ८ बजेतिरको समयमा खोलामा पाहा मार्न गएका थिए । उनीहरुकोे शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याई थप अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।
मकवानपुरको कैलाश,भीमफेदी,इन्द्रसररोवर, राक्सिराङलगाएत पालिकामा पाहाको शिकार हुने गरेको छ । रातमा आहाराका लागि खोचहरुबाट निस्कने पाहाको शिकारका लागि मानिसहरु जंगल जाने गरेका छन् ।







