मकवानपुरमा बिना दर्ता सञ्चालित क्रसर तथा बालुवा उद्योग बन्द गर्न निर्देशन
मकवानपुर । नदिजन्य तथा खानीजन्य जिल्ला अनुगमन एवम् व्यवस्थापन समिति मकवानपुरले जिल्लामा दर्ता बिना सञ्चालित क्रसर तथा बालुवा उद्योगहरु बन्द गर्न स्थानीय तहहरुलाई निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले अनुगमन उपसिमितिको प्रतिवेदनको आधारमा जिल्लामा दर्ता नगरि सञ्चालित त्यस्ता उद्योगहरु बन्द गर्न स्थानीय तहलाई निर्देशन दिने निर्णय गरेको हो ।
अनुगमन समितिका अध्यक्ष समेत रहनुभएका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले त्यस्ता क्रसर तथा बालुवा उद्योगहरु स्थानीय प्रहरी÷प्रशासनको सहयोगमा तत्काल बन्द गर्न निर्देशन दिने निर्णय गरेको हो । बैठकले जिल्लामा सञ्चालित क्रसर तथा बालुवा उद्योगहरु बिना दर्ता सञ्चलन भएको, राजस्व नबुझाएको र सम्बन्धीत स्थानमा सञ्चालन नभएको भए अनुगमन तथा आवश्यक छानबिन गरी तत्काल बन्द गर्न स्थानीय तहलाई निर्देशन दिने निर्णय गरेको प्रमुख खुलालले जनाए ।
त्यस्तै बैठकले क्रसर तथा बालुवा उद्योगहरुको स्टक प्रमाणित नभए सम्मका लागि ढंगा, गीट्टी बालुवा बिक्रि वितरणमा रोक लगाउने निर्णय गरेको छ । कतिपय स्थानीय तहमा सञ्चालित क्रसर उद्योगहरु स्टक प्रमाणित गर्न नआएका कारण त्यस्ता उद्योगहरुको हकमा स्टक प्रमाणित नभएसम्म बिक्री वितरणमा रोकलगाउने निर्णय गरेको प्रमुख खुलालले बताए ।







