मकवानपुर जिल्ला बक्सिङ संघले गर्यो अक्षयकोष स्थापना
मकवानपुर । मकवानपुरका बक्सिङ खेलाडीहरुको हित र विकासको लागि मकवानपुर जिल्ला बक्सिङ संघले अक्षयकोष स्थापना गरेको छ । अक्षयकोषमा हालसम्म करिव ३ लाख ८१ हजार रुपैयाँ संकलन भइसकेको मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष दीपेश जोशीले जानकारी दिए । आज(शनिबार) पत्रकार सम्मेलनको आयोजना गर्दै संघका अध्यक्ष जोशीले खेलाडी तथा संघको प्रवद्र्धनको लागि अक्षयकोष निर्माण गरेको बताए ।
‘अक्षयकोषको लक्ष्य ठूलो भएतापनि यसलाई १० लाख रुपैयाँ सम्म पुर्याउने लक्ष्य रहेको छ ।’ अध्यक्ष जोशीले भने–‘कृषि विकास बैंकमा १ लाख ७५ हजार रुपैयाँ जम्मा गरी अक्षयकोष सञ्चालनमा ल्याएका थियौँ । अहिले ३ लाख ८१ हजार रुपैयाँ अक्षयकोषमा जम्मा भइसकेको छ ।’ अक्षयकोषको लागि संघका अध्यक्ष दीपेश जोशीले १ लाख, पुरनबहादुर जोशीले १ लाख, जिल्ला बक्सिङ संघका प्रशिक्षक लालबहादुर पौडेल ५० हजार, प्रकाश पुरी ५१ हजार, अन्तराष्ट्रिय बक्सिङ खेलाडी सुशिल घिमिरे २५ हजार, सुजन ढकाल २५ हजार, भुपेन्द्र विष्ट १० हजार, अनिल रावल १० हजार र भाजुरत्न श्रेष्ठले १० हजार रुपैयाँ सहयोग गरेका छन् । बक्सिङ खेलप्रति खेलाडी आकर्षित हुन् भन्नका निम्ति पनि अक्षयकोष स्थापना गरेको जोशीले बताए । उनले ५ लाख रुपैयाँ बराबरको बक्सिङ प्रशिक्षण सामाग्री सहयोग गरेका छन् । जिल्लामा बक्सिङ खेललाई नयाँ उचाईमा पु¥याउनका लागि खेलाडीहरुलाई प्रशिक्षण सामाग्री आवश्यक पर्ने भएकोले व्यक्तिगत खर्चमा ५ लाख ४२ हजार ९ सय २२ रुपैयाँ बराबरको प्रशिक्षण सामाग्री सहयोग गरेको उनले बताए ।
हेटौंडा–४ स्थित कभर्डहलमा रहेको जिल्ला बक्सिङ संघको प्रशिक्षण स्थलमा नै उपस्थित भएर उनले बक्सिङका मुुख्य प्रशिक्षक लालबहादुर पौडेललाई प्रशिक्षण सामाग्री हस्तान्तरण रहेका छन् । बक्सिङ प्रशिक्षणका लागि काठमाडौं उपत्यकाभन्दा बाहिर सबैभन्दा उत्कृष्ट र प्रशिक्षण सुबिधायुक्त जिल्ला भएको उनले दाबी गरे। बक्सिङ प्रशिक्षणका लागि आवश्यक थप सहयोग गर्दै जाने उनले प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष जोशीले आफ्नै खर्चमा मासिक पारिश्रमिक प्रदान गर्ने गरी मकवानपुर जिल्लाका लागि बक्सिङका सहायक प्रशिक्षकमा अनिल दहाललाई नियुक्त गरेका छन् । शनिबार भएको मकवानपुर जिल्ला बक्सिङ संघको बैठकबाट दाहाललाई सहायक प्रशिक्षकमा नियुक्त गरेको उनले जानकारी दिए । बैठकमा द्वितीय उपाध्यक्ष नियुक्त हुनुभएका पूर्वअन्तर्राष्ट्रिय बक्सिङ खेलाडी सुशिल घिमिरेलाई पनि स्वागत गरिएको थियो । मकवानपुर जिल्ला बक्सिङ संघका प्रशिक्षक लालबहादुर पौडेलले खेलाडीको प्रशिक्षणको लागि चाहिने सामग्री नहुँदा निकै कठिनाई र समस्या भोग्नु परेको बताए ।







