१४ भदौ, बुटवल । बुटवलको ज्योतिनगरमा चुरे पहाडबाट पहिरो खस्दा ७ घर पुरिएका छन् । बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर बमघाटमा आइतबार बिहान पनि पहिरोले तीन घर पुरिएका थिए । वर्षा नरोकिएकाले सोमबार पनि वस्तीमा पहिरो झरेको हो ।
चुरे पहाडबाट ढुंगासहितको पहिरो खस्दा ५० घरमा क्षति पुगेको र अन्य २० घरमा पनि ढुंगासहितको लेदो माटो पसेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए ।
पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मनकुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको छ । पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने रिङरोडसमेत बगाएको छ । पहिरोबाट विस्थापित धेरैजसो आफन्तको आश्रय लिएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।
ज्योतिनगर क्षेत्रलाई उपमहानगरले असुरक्षित क्षेत्र घोषणा गरी सुरक्षित हुन आग्रह गरेको तर अटेर गर्दा क्षति भएको प्रवक्ता रेग्मीले बताए । ज्योतिनगरमा २३ वर्षअघि पनि पहिरो जांदा ५७ घरमा क्षति भएको थियो र पहिरोबाट विस्थापितलाई बुटवलको तामनगरमा स्थानान्तरण गरिएको थियो ।
तर पछि फेरि वस्ती बसेको थियो । पहिरोले पुरिएका घर मध्ये केही वनको जग्गामा बनेका घर र केही जग्गाधनी पुर्जा प्राप्त जग्गा भएको प्रवक्ता रेग्मीले बताए ।