घ्याङलेखको मुहार फेर्दै प्रदेश सरकार: दुई वर्षमै साढे १६ किमि सडक कालोपत्रे र दुई पुल निर्माण

अखबार हब
२०८३ बैशाख ९, बुधबार १९:५३

हेटौंडा । बागमती प्रदेश सरकारले मानव विकास सूचकाङ्कमा पछि परेको सिन्धुलीको घ्याङलेख गाउँपालिकामा साढे १६ किलोमिटर सडक कालोपत्रे र दुईवटा पक्की पुल निर्माण गरेको छ ।
प्रदेश सरकारको करिब ४७ करोड रुपैयाँको लगानीमा २५ किलोमिटर लामो पिपलभञ्ज्याङ–हायूटार–रामपुर सडकमध्ये साढे १६ किलोमिटर सडक साढे ५ मिटर चौडा कालोपत्रे भएको हो । यसका साथै, घ्याङलेख–२ को ठाडी खोला र वडा नं.३ को तामाजोर खोलामा ४०/४० मिटर लामा दुईवटा पक्की पुल पनि निर्माण सम्पन्न भएका छन् ।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाले नवनिर्मित कालोपत्रे सडक र पुलको उद्घाटन गर्नुभयो । उहाँले उद्घटन समारोहलाई सम्बोधन गर्दै मानव विकास सूचकाङ्कमा पछि परेका घ्याङलेख, धादिङको रुबी भ्याली र सिन्धुपाल्चोकको पाँचपोखरीमा मन्त्रालयले विशेष प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो । उहाँले घ्याङलेखको पूर्वाधार विकासका लागि थप ३५ करोड रुपैयाँ बजेटको प्रतिबद्धता जनाउँदै विकासमा दलीय स्वार्थभन्दा माथि उठ्न आग्रह गर्नुभयो ।

जनताको जीवनस्तरमा आमूल परिर्वतन ल्याउन अन्य मन्त्रालयसंग सहकार्यमा गरेर लक्षित कार्यक्रम घोषणा गरिने मन्त्री डा. देवकोटाले बताउनुभयो । ‘जबसम्म विकासलाई जनताले आत्मसात् गर्दैनन्, तबसम्म त्यो वास्तविक विकास हुन सक्दैन । हामीले बनाएका यी संरचनाले यहाँको भूगोल र जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउनुपर्छ,’ उहाँले भन्नुभयो ।
पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री तथा प्रदेश सांसद गंगानारायण श्रेष्ठले बागमती प्रदेशका ६६ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा पछि परेको यस क्षेत्रको पूर्वाधार विकासमा प्रदेश सरकारको विशेष ध्यान जानुपर्ने बताउनुभयो । ‘मानव विकास सूचकाङ्कले देखाएको तथ्याङ्कले यहाँको अवस्था बोल्छ । यो क्षेत्रको विकासमा प्रदेश सरकारको विशेष ध्यान आवश्यक छ,’ उहाँले भन्नुभयो ।

प्रदेश संरचनाकै कारण घ्याङलेखजस्तो विकट ठाउँ राजधानीसँग जोडिन सम्भव भएको बताउँदै अर्का प्रदेश सांसद मातृकाप्रसाद भट्टराईले भौतिक विकाससँगै मानवीय चेतनाको विकासमा पनि जोड दिनुभयो ।

पूर्वाधार विकास कार्यालय सिन्धुलीका अनुसार, २४ करोड ८८ लाखमा १०.२० कि.मि. र १० करोड ८० लाखमा ६.३० कि.मि. का दुई सडक खण्ड निर्माण भएका हुन् । त्यसैगरी, ११ करोड २८ लाखको लागतमा दुईवटा पक्की पुलसमेत निर्माण सम्पन्न भएका छन् । यी योजनाहरूको म्याद २०८३ सालसम्म भए तापनि तोकिएको समयअगावै काम सम्पन्न भएको कार्यालयले जनाएको छ ।

समयमै काम सम्पन्न गरेकोमा निर्माण व्यवसायीहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो । पुल निर्माणतर्फ श्री सृजना निर्माण सेवा, सिन्धुली तथा सडक कालोपत्रेतर्फ श्री जयबाबा गोरख–सारस–बालकोट जे.भी. र श्री सञ्जीव–सिन्धुली जे.भी.कालाई सम्मान गरिएको थियो ।

सडक पूर्वाधार बनेपछि सिन्धुलीको ‘कर्णाली’ भनिने घ्याङलेख दुर्गम मात्र रहेन, यो सम्भावनाको केन्द्र बनेको मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाले बताउनुभयो । सङ्घीय सरकारको तुलनामा प्रदेश सरकारको निर्णय प्रक्रिया छिटो भएकाले नै घ्याङलेखको सडक समयमै सम्पन्न हुन सकेको उहाँले सुनाउनुभयो । साथै, समयमै काम गर्नेलाई पुरस्कृत र नगर्नेलाई दण्ड दिने स्पष्ट कानुनी व्यवस्थाको आवश्यकता समेत उहाँले औँल्याउनुभयो ।

यातायात पूर्वाधार निर्देशनालयका प्रमुख नवीन सिंहले नयाँ सडक बनेपछि सवारीको गति बढ्ने र दुर्घटनाको जोखिम पनि बढ्न सक्ने भन्दै सचेत गराउनुभयो । उहाँले घर तथा अन्य संरचना निर्माण गर्दा सडकको मापदण्डलाई ध्यान दिन नागरिक र स्थानीय तहलाई अनुरोध गर्नुभयो ।

यस प्रादेशिक सडकको करिब ९ किलोमिटर कालोपत्रे र दुईवटा महत्त्वपूर्ण पुल निर्माण गर्न अझै बाँकी छ । यी सबै काम सकिएपछि घ्याङलेख मदन भण्डारी राजमार्ग र बीपी राजमार्गसँग जोडिनेछ । त्यसपछि जिल्ला सदरमुकाम मात्र होइन, प्रदेश र सङ्घीय राजधानीसम्मको पहुँच अझ सहज बन्नेछ ।

पूर्वाधार विकास कार्यालय सिन्धुलीका प्रमुख लक्ष्मीप्रसाद सापकोटाका अनुसार, निर्माण हुन बाँकी दुई पुलमध्ये हाडी खोलाको २० मिटर लामो पुलको ठेक्का सम्झौता भइसकेको छ । ‘मरिण खोलामा पुल बनाउन र सडक कालोपत्रे गर्न बजेट स्वीकृत भएर आएपछि काम सुरु हुन्छ,’ उहाँले भन्नुभयो ।

सिन्धुलीको सबैभन्दा विकट मानिने यस क्षेत्रमा भौतिक पूर्वाधार निर्माण भएसँगै स्थानीयको जीवनस्तर सहज बनेको छ । मङ्गलबार आयोजित उद्घाटन समारोहमा भेटिनुभएका ७८ वर्षीय विन्द्रे स्याङ्तानले पुरानो दुःख सम्झनु भयो । ‘पहिला यही बाटोमा नुन–तेल बोकेर दिनभर हिँड्दा पनि सिन्धुली बजारसम्म पुगेर फर्किन मुस्किल थियो । आज गाडी कुदेको देख्दा सपनाजस्तै लागेको छ । नातिनातिनालाई खोलाले बगाउला भन्ने डर पनि हट्यो,’उहाँले भन्नुभयो ।

विगतमा सडक सञ्जाल नहुँदा सामान्य नुन–तेल किन्न पनि सास्ती खेपेका स्थानीय शिक्षक श्रवणकुमार सुनुवार अब घ्याङलेखबासीहरुको भविष्यप्रति आशावादी हुनुहुन्छ । ‘अब हाम्रा किसानले फलाएको तरकारीले बजार पाउनेछ । व्यावसायिक कृषि र माछापालनबाट गाउँको आर्थिक स्तर उकासिनेछ,’उहाँले भन्नुभयो ।

घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनको अध्यक्षतामा भएको उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख कार्साङ लामा, पालिका उपाध्यक्ष शंकरमान घलान, नेकपा एमालेका जिल्ला इन्चार्ज मनोजजंग थापा, सहरी विकास तथा भवन कार्यालय सिन्धुलीका प्रमुख किरण कार्की लगायत जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*