काम सकेको दुई वर्षपछि मुख्यमन्त्री बानियाँले गरे चित्लाङ भ्युटावरको उद्घाटन

अखबार हब
२०८२ पुष ९, बुधबार २१:४१

हेटौँडा। निर्माण सम्पन्न भएको दुई वर्षपछि थाहा नगरपालिकाको चित्लाङमा निर्माण गरिएको भ्युटावर उद्घाटन गरिएको छ । स्थानीय तहले सञ्चालन तथा व्यवस्थापन गर्नेगरी बागमती प्रदेश सरकारले निर्माण गरेको सो भ्युटावर बुधबार उद्घाटन गरिएको हो ।

विगतमा सञ्चालन कार्यविधि तथा स्थानीय तह र प्रदेश सरकार बिचको सहमति मिल्न नसक्दा भ्युटावर तथा हिल स्टेसन सञ्चालनमा आउन सकेको थिएन । बागमती प्रदेश सरकारको लगानीमा निर्माण भएको सो संरचनाको बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ तथा संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले उद्घाटन गरेका हुन् ।

प्रदेश सरकारले ‘चित्लाङ हिलस्टेसन प्याकेज’ कार्यक्रमअन्तर्गत कुल ५ करोड २७ लाख ४७ हजार रुपैयाँ लागतमा भ्युटावर र अन्य सहायक संरचनाहरू निर्माण गरेको थियो । २०७७ र २०८० मा गरी दुई प्याकेजमा निर्माण सम्पन्न भएको उक्त संरचना हस्तान्तरण र व्यवस्थापनको कार्यविधि नबन्दा प्रयोगविहीन अवस्थामा थियो ।

गत साता मात्रै प्रदेश सरकारले उक्त पर्यटकीय संरचना थाहा नगरपालिकालाई हस्तान्तरण गरेको थियो । भ्युटावर सञ्चालन तथा व्यवस्थापनका लागि थाहा नगरपालिका र प्रदेशको पर्यटन विकास आयोजनाबिच सम्झौता भएको छ । सम्झौताअनुसार अब नगरपालिकाले यो टावर आफैँ वा अन्य संघसंस्थारसमितिमार्फत ठेक्कामा लगाएर सञ्चालन गर्न सक्नेछ ।

टावरबाट हुने आम्दानीको बाँडफाँडमा ७० प्रतिशत हिस्सा थाहा नगरपालिकाको हुनेछ भने बाँकी ३० प्रतिशत रकम बागमती प्रदेश सरकारको राजस्व खातामा अर्धवार्षिक रूपमा जम्मा गर्नुपर्ने पर्यटन विकास आयोजनाका प्रमुख रोशन श्रीवास्तवले जानकारी दिए । १० बुँदे सम्झौतामा सो संरचना पर्यटन प्रवर्घनबाहेक अन्य कुनै पनि उद्देश्यका लागि प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ ।

भ्युटावर परिसरमा मुख्य टावरसँगै क्रिएसन हल, शौचालय, रिटेनिङ वाल, गेट र गार्ड हाउस जस्ता संरचनाहरू निर्माण गरिएको उनले बताए । संरचना मर्मतसम्भार गर्नुपरेमा एक पटकका लागि प्रदेशको पर्यटन मन्त्रालयले लागत बेहोर्ने सम्झौतामा उल्लेख रहेको उनको भनाइ छ ।

उनका अनुसार प्रदेश सरकारले २०७६ सालदेखि हालसम्म १३ मध्ये ९ जिल्लामा ११ वटा भ्युटावर निर्माण गरिसकेको छ । मकवानपुरसहित नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, चितवन, रामेछाप, सिन्धुली, धादिङ र दोलखामा उक्त संरचना निर्माण भएका हुन् । ११ वटा भ्युटावर निर्माणमा प्रदेश सरकारले कुल ३२ करोड ८४ लाख ३ हजार ३ सय ३९ रुपैयाँ लगानी गरेको छ । जसमध्ये चित्लाङसहित हालसम्म ५ वटा भ्युटावर मात्रै सञ्चालनमा आएका र अन्य संरचनाहरू पनि क्रमशः स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रक्रियामा रहेको उनले बताए ।

उद्घाटन कार्यक्रममा पर्यटनमन्त्री सुरेश श्रेष्ठले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न प्रदेश सरकारले पर्यटकीय पूर्वाधारमा लगानी बढाउँदै लगेको बताए । प्रदेशको पर्यटकीय गन्तव्यहरूको व्यवस्थापन र संरचनाको विकासमा सरकार प्रयत्नरत रहेको उनको भनाइ थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*