तिहारमा स्वदेशी उत्पादन प्रयोग गर्न प्रदेश सरकारको अपिल
हेटौंडा । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्वदेशी उत्पादनको प्रवर्द्धन र प्रयोगमा जोड दिएको छ।
मन्त्री मधुसूदन पौडेलले बिहिवार एक विज्ञप्ति जारी गर्दै नेपालीहरूको महान् पर्व तिहार, छठ पर्वको अवसरमा कृत्रिम फूल र विदेशी उत्पादनको सट्टा स्वदेशमै उत्पादन भएका प्राकृतिक फूल र दुग्धजन्य वस्तुको प्रयोग गर्न सर्वसाधारणमा अपिल गर्नुभएको हो।
तिहारमा गोदावरी, सयपत्री, मखमली लगायतका प्राकृतिक फूलको सांस्कृतिक र आर्थिक महत्व रहेको उल्लेख गर्दै मन्त्री पौडेलले पछिल्लो समय कृत्रिम फूलको अत्यधिक प्रयोगले किसानको आयमा कमी आएको र वातावरणमा समेत नकारात्मक असर परेको बताउनुभयो। उहाँले स्वदेशमा उत्पादन भएका फूल प्रयोग गरी स्थानीय कृषकलाई सहयोग गर्न र प्लास्टिकका कृत्रिम फूलको प्रयोग नगर्न अनुरोध गर्नुभएको छ।
मन्त्रालयले प्रदेशका किसानलाई प्राकृतिक फूल उत्पादनमा प्रोत्साहित गरिरहेको र आगामी दिनहरूमा पनि यस्ता उत्पादनको संरक्षण तथा बजार प्रवर्द्धनका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ। साथै, मन्त्री पौडेलले स्वदेशमै उत्पादन भएका घ्यू, दही, पनीर, खुवा तथा मिष्ठान्नजस्ता दुग्धजन्य उत्पादनहरूको प्रयोग गर्न आग्रह गर्दै यसले किसान र दुग्ध उत्पादकको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।
स्वदेशी उत्पादनको प्रयोग, वातावरणमैत्री व्यवहार र संस्कृतिप्रतिको सम्मानमार्फत समृद्ध र आत्मनिर्भर बागमती प्रदेश निर्माणमा सबै एकजुट हुनुपर्ने उल्लेख गर्दै उहाँले “शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वले सबैमा सुख, शान्ति र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा प्रदान गरोस्” भनी शुभकामना व्यक्त गर्नुभएको छ।







