बागमती प्रदेशले कृषि ऋणको ब्याज तिरिदिने : मन्त्री पौडेल
हेटौंडा । बागमती प्रदेश सरकारले कृषि क्षेत्रमा संलग्न युवाहरुलाई प्रोत्साहनस्वरूप कृषि ऋणको ब्याज तिरिदिने भएको छ ।
आज बाट सिन्धुलीको मरिणमा सुरु भएको इन्टरनेसनल एसोसिएसन अफ एग्रीकल्चर रिलेटेड साइन्स (IAAS) नेपालको ९औं राष्ट्रिय कङ्ग्रेस सम्मेलनको उद्घाटन समारोहमा बोल्दै बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले कृषि उत्पादनमा लगानी गर्न लिएको ऋण तिर्न कृषकलाई समस्या भएकोले सहजताको लागि ऋणको ब्याज अनुदान दिनलागेको बताएका हुन्।
मन्त्री पौडेलले सम्भावनाको सबैभन्दा ठूलो क्षेत्र कृषि भएको उल्लेख गर्दै भने, “देशको ग्राहस्थ उत्पादनमा बागमती प्रदेशको कृषि उत्पादनको ठूलो योगदान छ, तर अझै पनि हामीले उत्पादन गरेको उपजले वर्षभर खान पुग्ने अवस्था छैन।” उनले युवाशक्तिलाई व्यवस्थित रूपमा कृषि क्षेत्रमा आकर्षित गर्न सके आत्मनिर्भरता हासिल गर्न सकिने बताए।
कार्यक्रमका विशिष्ट अतिथि मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले राज्यले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिँदै मरिण कृषि कलेजका समस्याहरू समाधान गर्न पालिकाले सहजीकरण गर्दै आएको जानकारी दिए। उनले कलेजलाई देशकै आकर्षक कृषि शिक्षण केन्द्रको रूपमा विकास गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
त्यस्तै, कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारीले कृषिमा युवाको सक्रियता बढाउन नीतिगत सुधार आवश्यक रहेको बताए। उनका अनुसार, कृषिमा युवाको सहभागिता बढाउन सके रोजगारीका अवसर सिर्जना हुने र निजी क्षेत्रको भूमिका पनि मजबुत हुने बताए ।
इन्टरनेसनल एसोसिएसन अफ एग्रीकल्चर रिलेटेड साइन्स (IAAS) नेपालको आयोजनामा सुरु भएको तीनदिने सम्मेलनमा देशभरका १३ वटा कृषि क्याम्पसका विद्यार्थीको सहभागिता रहेको छ।
सम्मेलनको उद्घाटन कार्यक्रम लोकल डाइरेक्टर कौशल कोइरालाको सभापतित्वमा सम्पन्न भएको थियो। सम्मेलनले कृषि शिक्षामा अनुसन्धान, नवप्रवर्तन र नीति सुधारका विषयमा विद्यार्थी तथा विज्ञबीच गहिरो छलफल गराउने उद्देश्य लिएको आयोजकले जनाएको छ।







