आगजनीबाट क्षतिग्रस्त कृषि कार्यालयको मन्त्री पौडेलद्वारा निरीक्षण

अखबार हब
२०८२ आश्विन २३, बिहीबार २२:१८

हेटौंडा । जेनजी आन्दोलनका क्रममा आगजनी गरि ध्वस्त बनाइएको चितवनस्थित कृषि विकास कार्यालयको बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले स्थलगत निरीक्षण गरेका छन् ।

बिहीबार मन्त्री पौडेलले आन्दोलनका क्रममा आन्दोलनकारीले जलाएका कृषि मन्त्रालय मातहत रहेको कृषि विकास कार्यालय चितवनको अवलोकन गर्दै कार्यालय पुनःसञ्चालनका लागि आवश्यक व्यवस्थापनका कार्यहरू तत्काल अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

निरीक्षणका क्रममा मन्त्री पौडेलले भने, “राज्यका सार्वजनिक सम्पत्तिमाथि यसरी तोडफोड र आगजनी हुनु दुःखद कुरा हो। हामी तत्काल मर्मत, रंगरोगन, फर्निचर, कम्प्युटर तथा अन्य आवश्यक सामग्रीको व्यवस्था गरेर चाँडै कार्यालयलाई सामान्य अवस्थामा ल्याउँछौं।”

आगलागीबाट करिब १ करोड २६ लाख रुपैयाँ बराबरको क्षति भएको कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले बताए । दुई वटा चारपाङ्ग्रे गाडी, सात वटा मोटरसाइकल र १२ सेट कम्प्युटर जल्नुका साथै कार्यालयको दुई कोठा पूर्णरूपमा नष्ट भएको छ ।

कँडेलका अनुसार हाल जलेकै भवनको एउटा कोठाबाट अस्थायी रूपमा कार्यालय सञ्चालन भइरहेको छ। तालुक निकायबाट काम गर्ने आधिकारिक अनुमति प्राप्त भए तिहारलगत्तै कार्यालय पूर्णरूपमा सञ्चालनमा आउने तयारी भइरहेको उनले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published.


*