बाढी, पहिरो र चट्याङका कारण १९ जनाको मृत्यु, कहाँकहाँ कति भए मानवीय क्षति ?
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो अविरल वर्षाका कारण देशका विभिन्न भागमा गएको पहिरो र बाढी अनि चट्याङ्गमा परी कम्तीमा १९ जनाको ज्यान गएको जनाएको छ।
त्यस्तै बेपत्ता हुनेको सङ्ख्या ८ रहेको र ११ जना घाइते भएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताएकी हुन्।
“इलाममा पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ अनि खोटाङमा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ। त्यस्तै उदयपुरमा पनि खोलाले बगाएर अर्का एक व्यक्तिको मृत्यु भएको छ। रौतहट जिल्लामा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ,” प्राधिकरण प्रवक्ता शान्ति महतले भनिन्।
बेपत्ता हुने ८ जनामध्ये इलामको पहिरोमा चार जना हराइरहेका र रसुवास्थित लाङटाङ घुम्न गएका चार जना खोलाले बगाएर हराइरहेका प्राधिकरणले जनाएको हो।
घाइते हुने ११ जनामध्ये इलामको पहिरोमा परी चार जना घाइते भएका र बाँकी मकवानपुर, भोजपुर र खोटाङमा चट्याङ लागेर ७ जना घाइते रहेको महतले बताइन्।
उद्धारका लागि इलाममा हेलिकोप्टर पुगे पनि घटनास्थलमा अवतरण गर्न अलि कठिनाइ भइरहेको भन्ने जानकारी आएको उनले बताइन्।
भौतिक क्षतिको विवरण भने सङ्कलन हुने क्रममै रहेको प्राधिकरणले जनाएको छ।







