भीमफेदीका कैदी बन्दीलाई खसी र खाद्यान्न
हेटौँडा । मकवानपुरको भीमफेदी कारागारमा रहेका कैदी बन्दीलाई मनहरी गाउँपालिकाले दसैँ मनाउन लागि खसी र खाद्यान्न सहयोग उपलब्ध गराएको छ ।
गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामीलगायत जनप्रतिनिधिहरूको उपस्थितिमा आइतबार कारागार प्रशासनलाई खसी र खाद्यान्न सामाग्री उपलब्ध गराइएको हो ।
गाउँपालिकाले कारागारलाई २ वटा खसी, ७ बोरा चामल, ६ बोरा चिउरा र अढाई कार्टुन तेल उपलब्ध गराएको हो । त्यसै गरी कारागारको प्रशासनिक सेवामा सहजताका लागि गाउँपालिकाले एउटा प्रिन्टरसमेत उपलब्ध गराएको छ । दसैको अवसरमा गाउँपालिकाले हरेक वर्ष खसी खाद्यान्न र अन्य आवश्यक सामाग्री कारागारलाई सहयोग गर्ने गरेको छ ।
कारागारमा रहेका कैदी बन्दीले हर्षका साथ चाडपर्व मनाउन पाउन् भन्ने उद्देश्यले खाद्यान्न सहयोग गर्दै आइएको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताउनुभयो । गाउँपालिकाका जनप्रतिनिधिले गाउँपालिका स्थायी वासी कैदीबन्दीहरुसँग समेत भेटघाटका साथै शुभकामना आदानप्रदान गर्नुभएको थियो । भीमफेदी कारागारमा मनहरी गाउँपालिकाका करिब ६० जनाभन्दा बढी कैदी बन्दी रहेको जनाइएको छ ।
खाद्यान्न वितरण कार्यक्रममा अध्यक्ष कालाखेती, उपाध्यक्ष पुलामीसहित १ नम्बर वडाध्यक्ष शिवप्रसाद खनाल, २ नम्बर वडाध्यक्ष राजकुमार पाख्रिन, ३ नम्बर वडाध्यक्ष अनन्तप्रकाश अर्याल, ६ नम्बर वडाध्यक्ष यादव थपलिया, ७ नम्बर वडाध्यक्ष ठाकुर तितुङ लगायतको उपस्थिति रहेको थियो ।







