लागुऔषध खैरो हेरोइनसहित हेटौँडाबाट सातजना पक्राउ

अखबार हब
२०८२ श्रावण ५, आईतवार २०:५५

हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाबाट लागुऔषध खैरो हेरोइनसहित सातजनालाई पक्राउ गरेको छ। लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा साउन २ र ३ गते जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत प्रहरी कार्यालयको संयुक्त टोलीले हेटौँडाका विभिन्न स्थानमा विशेष अपरेसन सञ्चालन गरी सातजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा हेटौँडा उपमहानगरपालिका– १ बस्ने २० वर्षीय सतिस लामा, वडा नम्बर ५ सानो पोखरा बस्ने २० वर्षीय सन्जीव लामा, भीमफेदी गाउँपालिका–२, कालिकाटारकी १९ वर्षीया सन्ध्या पाख्रिन, मकवानपुरगढी गाउँपालिका–२, बाँसपानीकी १९ वर्षीया सन्ध्या घलान रहेका छन्। उनीहरूको साथबाट खैरो हेरोइन २ ग्राम २१० मिलिग्राम बरामद गरेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।

त्यसैगरी, हेटौँडा–१५ स्थित रातोमाटे चेकपोइन्टमा जाँचका क्रममा प्रहरीले ना ३७ प ६४४९ नम्बरको मोटरसाइकलचालक, पर्सा पोखरिया नगरपालिका–१, बनकटवाका २७ वर्षीय अकलेश महतो कुशहवाको साथबाट २ ग्राम ९१० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ।

यस्तै, सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका–६ घर भई हाल हेटौँडा–९, लामसुरे बस्ने ३६ वर्षीय शैलेन्द्र चौधरी र सप्तरी राजगढ गाउँपालिका–२, बनैनियाका अजय सिंहको साथबाट १ ग्राम २८० मिलिग्राम लागुऔषध फेला परेको प्रवक्ता अर्यालले जानकारी दिए।

अर्यालका अनुसार सातैजनाको साथबाट कुल ६ ग्राम ४०० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो। बरामद लागुऔषधसहित उनीहरूलाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको प्रवक्ता अर्यालले बताए।

यसमा तपाइको मत

Your email address will not be published.


*