वडाध्यक्ष सिग्देलमाथि भएको आक्रमणको एमालेद्वारा भर्त्सना

अखबार हब
२०८२ असार २०, शुक्रबार १९:१८

हेटौंडा । नेकपा (एमाले) मकवानपुरले वडाध्यक्ष माथि भएको हातपात घटनाको विरोध जनाएको छ । एमाले मकवानपुरले शुक्रबार एक विज्ञप्ति जारी गर्दै हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलमाथि भएको हातपात घटनाको  भर्त्सना गरेको हो ।

बिहीबार विहान करिब ९ः३० बजे हेटौंडा उपमहानगरपालिका वडा नं. ४ स्थित हेटौँडा क्याम्पसअगाडिबाट हुप्रचौरतर्फ निस्कने सडक अगाडिको ढल निकाससहित सडक विस्तार गर्ने क्रममा निर्माणस्थलमा स्थलगत निरीक्षण गर्न गएका वडाध्यक्ष सिग्देलमाथि हातपात भएको थियो। सिग्देलमाथि मञ्जु लामाले हातपात गरेकी हुन्। उनी काभ्रेको रोशी गाउँपालिकाकी निर्माण व्यवसायी रहेको मकवानपुर प्रहरीले जनाएको छ।

एमाले जिल्ला पूर्वसचिवसमेत रहेका वडाध्यक्ष सिग्देलमाथि र केही समय पहिले हेटौँडा- १ का वडा अध्यक्ष सविन न्यौपाने माथि भएको हातपातको घटना एमाले मकवानपुरले विरोध जनाएको हो । एमाले मकवानपुरले यस घटनालाई योजनाबद्ध, अमानवीय र गैरकानुनी भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

एमालेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा अन्य प्रचलित कानूनले दिएको अधिकार प्रयोग गर्दै आफ्नो कर्तव्य निर्वाह गरिरहेका वडाध्यक्षमाथि भएको यस्तो अमानवीय आक्रमण अत्यन्त निन्दनीय छ ।’

विज्ञप्तिमा वडाध्यक्षमाथिको आक्रमणले जनप्रतिनिधिहरू भय, त्रास र असुरक्षाको वातावरणमा काम गर्न बाध्य भएको उल्लेख गर्दै दोषीलाई कानुनी कारबाही गर्न तथा जनप्रतिनिधिलाई सहयोग पुर्वक काम गर्न दिने वातावरण निर्माण गर्न माग गरिएको छ।

विज्ञप्ति मार्फत एमाले मकवानपुरले दोषीलाई कडा कारबाही र शान्तिपूर्ण वातावरण निर्माणका लागि सुरक्षा संयन्त्रलाई पनि आग्रह गरिएको छ।

विज्ञप्ति

यसमा तपाइको मत

Your email address will not be published.


*