कैलाशमा प्रहरीको छापाः ठूलो परिमाणको गाँजासहित ४ जना पक्राउ
मकवानपुर। मकवानपुरको कैलाश गाउँपालिका बाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गर्दै चार जना पक्राउ परेका छन् ।
सोमबार लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोली र स्थानीय सुरक्षाकर्मीहरूको समन्वयमा जिल्लाको कैलाश गाउँपालिका–५, कटहरे पोखरीस्थित एक निजी घरमा छापा मारिएको थियो।
प्रहरीले उक्त स्थानबाट १ हजार ७४ किलोग्राम गाँजा फेला पारी नियन्त्रणमा लिएको छ।लागुऔषध गाँजा घरको कम्पाउन्डमा भण्डारण गरिएको अवस्थामा भेटिएको लागु औषध नियन्त्रण ब्यूरो काठमाडौँका सहप्रवक्ता प्रहरी नायव उपरीक्षक जिवन निरौलाले जनाएका छन्।
घटनामा संलग्न रहेको आरोपमा कैलाश गाउँपालिका–५ का हरी बहादुर वाइवा, बुद्धि बहादुर पाख्रिन, अरुण गोले र राजेन्द्र लामालाई पक्राउ गरिएको छ । पक्राउ परेका व्यक्तिहरूमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पालुङ, मकवानपुरमा बुझाइएको प्रहरी स्रोतले जनाएको छ।







