मकवानपुरमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
हेटौंडा । मकवानपुरको थाहा नगरपालिका – १ कुन्छालस्थित कुन्छाल–कुलेखानी सडकखण्डमा सवारी साधनको ठक्करबाट पैदलयात्री वृद्धको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय पालुङका अनुसार बज्रबाराहीबाट पालुङतर्फ आउँदै गरेको सवारी साधनले पैदल यात्रा गरिरहेका थाहा – ६ का ७१ वर्षीय सीताराम महर्जनलाई ठक्कर दिएर घाइते बनाएको थियो ।
घाइते महर्जनलाई प्रारम्भिक उपचारका लागि नजिकैको बज्रबाराही स्वास्थ्य चौकी लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बिहीबार ५ बजे सशस्त्र प्रहरी बल अस्पताल, सतुंगलमा पुर्याउनेबित्तिकै उनको मृत्यु भएको इप्रका पालुङले जनाएको छ ।
ठक्कर दिने सवारी साधनको नम्बर र प्रकार खुलेको छैन । हाल फरार सवारी चालक तथा सवारी साधनको पहिचान र खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक सानुबाबु अर्यालले बताए ।







