हेटौंडामा भाउजूको हत्या गर्ने युवकलाई ३५ वर्ष कैद
हेटौंडा । भाउजूको हत्या गरेको र दाजुको हत्या गर्ने उद्योग गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक युवकलाई ३५ वर्ष कैद गर्ने फैसला सुनाएको छ । अदालतले पीडकबाट मृतक भाउजूको हकदारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति रकम भराउने आदेश दिएको छ ।
जिल्ला अदालत मकवानपुरकी न्यायाधीश अवनी मैनाली भट्टराईको बिहीबार बसेको इजलासले हेटौंडा उपमहानगरपालिका–१ चौकिटोलका २२ वर्षीय राहुल दासले एकैघर बस्ने हेटौंडा उपमहानगरपालिका–१ चौकिटोलकी ३५ वर्षीया भाउजू गुडिया दासको हत्या गरेको र माहिला दाजु २८ वर्षीय रुपेश दासको हत्या गर्ने उद्योग गरेको ठहर गर्दै उक्त फैसला सुनाएको हो ।
भाउजूको हत्या गरेको अभियोगमा २५ वर्ष कैद र माहिला दाजुको हत्या गर्ने प्रयास गरेकोमा थप १० वर्ष कैद गरी जम्मा ३५ वर्ष कैद हुने फैसला सुनाइएको जिल्ला अदालत मकवानपुरका सूचना अधिकारी केशवराज कौशिकले बताए । अदालतले पीडकबाट मृतकको नजिकको हकदारलाई क्षतिपूर्त स्वरूप १० लाख रुपैयाँ भराउने आदेश दिएको छ । एक लाख रुपैयाँ जरिवाना पनि तोकिएको छ । घाइते दाजुको उचित उपचार खर्च उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ । अदालतबाट ३५ वर्ष कैद तोकिएका राहुल भीमफेदी कारागारमा छन् ।
राहुलले गत चैत १२ गते कोठामा सुतेकी भाउजूलाई खुकुरी प्रहार गरेर हत्या गरेका थिए । भाउजूको हत्यापछि माहिला दाजु रुपेशको पनि हत्या गर्ने उद्देश्यले राहुलले घाँटी र शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका थिए ।
लागुऔषध सेवनकर्ता देवर राहुल दासलाई भाउजू गुडियाले लागुऔषध नखान सम्झाइबुझाइ गर्दै आएकी थिइन् । त्यही झोकमा राहुलले उनको हत्या गरेका थिए । माहिला दाजु रुपेशले पनि उनलाई लागुऔषध सेवन नगर्न दबाब दिँदै आएका थिए ।
तीन दाजुभाइमध्ये जेठा रोशन दास (मृतकका पति) रोजगारीको सिलसिलामा पाँच महिनाअघि कतार गएका थिए । तीन सन्तानकी आमा गुडियालाई राहुलले खुकुरी प्रहार गरी कोठामै हत्या गरेर सिरकले छोपेका थिए । त्यसपछि दाजु रुपेशमाथि आक्रमण गरेका थिए ।







