बागमतीको बजेटमा सञ्चार क्षेत्रको असन्तुष्टि

अखबार हब
२०८२ असार ११, बुधबार २१:०१

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको बजेटमा सञ्चार क्षेत्रलाई उपेक्षा गरिएको भन्दै पत्रकार महासंघ बागमती प्रदेश लगायत १२ सञ्चार सम्बद्ध संगठनहरुले असन्तुष्टि जनाएका छन् ।

सञ्चारमैत्री बजेट निर्माणका लागि पटक पटक ध्यानाकर्षण तथा पहल गर्दा समेत बेवास्ता गरिएको भन्दै उनीहरुले मुख्यमन्त्री लगायत आन्तरिक तथा कानूनमन्त्री र आर्थिक मामिला तथा योजनामन्त्रीलाई बुधबार ध्यानाकर्षणपत्र बुझाएका छन् ।

पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर नेतृत्वको टोलीले मुख्यमन्त्री बहादुर सिंह लामा, आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

सञ्चारमाध्यमले पाउँदै आएको लोक कल्याणकारी विज्ञापनमा ८५ प्रतिशत कटौती गरिएको, पत्रकार संघ संगठनको प्रदेश समिति मार्फत पत्रकारको क्षमता विकासका कार्यक्रम खारेज गरिएको तथा श्रमजीवी पत्रकारको क्षमता विकास तथा हितका कार्यक्रम कटौती गरिएकोमा संगठनहरुले गम्भीर आपत्ति जनाएका छन् ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने विषयलाई बजेटमा समावेश नगरिएकोमा पनि असन्तुष्टि व्यक्त गरिएको छ । सञ्चार हेर्ने आन्तरिक मामिला तथा कानून मन्त्रालयले केही लाख रुपैयाँ तजबिजमा बाँड्न राखिएको रकम बाहेक सञ्चार क्षेत्रलाई शून्य बजेट विनियोजन गर्नु दुःखद भएको उनीहरुको ठहर छ। लोकतन्त्रको अभिन्न अंग सञ्चार क्षेत्रलाई कमजोर बनाउने गरी बजेट ल्याइएको भन्दै उनीहरुले बजेट संशोधन गरी सञ्चारमैत्री बनाउन माग गरेका छन्। सञ्चार क्षेत्रलाई निषेध गरि बजेट पारित गरिएमा संघर्षमा उत्रने चेतावनी दिइएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री लामाले बजेट प्रणाली सुधारको आवश्यकता रहेको बताएका छन्।पत्रकारको मागका विषयमा आफू सकारात्मक रहेको बताउँदै मुख्यमन्त्री लामाले राज्यको चौंथो अंगलाई विभेद गर्ने प्रदेश सरकारको नीति नरहेको बताए।

यसमा तपाइको मत

Your email address will not be published.


*