मकवानपुरका सिडीओ श्रेष्ठको व्यवहारप्रति प्रेस चौतारीको आपत्ति

अखबार हब
२०८२ असार ६, शुक्रबार २२:४२

हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी सिडीओ स्किम श्रेष्ठले प्रशासन कार्यालय परिसरमा सञ्चारकर्मीहरुलाई फोटो तथा भिडियो खिच्न रोक लगाएको घटना प्रति प्रेस चौतारी नेपाल मकवानपुरले आपत्ति जनाएको छ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयमा विभिन्न राजनीतिक दलहरुले ज्ञापन पत्र बुझाउने कार्यक्रमका क्रममा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीहरुलाई प्रमुख जिल्ला अधिकारी श्रेष्ठले फोटो खिच्न तथा भिडियो छायांकनमा रोक लगाएको घटनाले विवाद उत्पन्न गरेको हो।

प्रेस चौतारी नेपाल मकवानपुरका सहसचिव तथा नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्य मनिल महतो, महासंघ उपाध्यक्ष भावना रिजाल, सदस्य गणेश दुलाल लगायत उपस्थित सञ्चारकर्मीहरुमाथि गरिएको व्यवहारप्रति प्रेस चौतारी मकवानपुरले गम्भीर आपत्ति जनाएको छ।

सार्वजनिक स्थलमा हुने सार्वजनिक चासोका गतिविधिहरुमा सञ्चारमाध्यमको उपस्थिति स्वाभाविक रहेको भन्दै प्रेस चौतारीले प्रमुख जिल्ला अधिकारी श्रेष्ठको उक्त कदम लोकतान्त्रिक मूल्यमान्यताविपरीत रहेको ठहर गरेको छ। प्रेस चौतारीले विज्ञप्तिमार्फत भनेको छ, “सार्वजनिक पदमा रहेका व्यक्तिहरुद्वारा प्रेसमाथि संकुचन गर्ने व्यवहार गर्नु र नागरिकलाई सूचित हुने अधिकारबाट बञ्चित गराउने प्रयास गम्भीर विषय हो। यसप्रति हामी गम्भीर ध्यानाकर्षण गराउँछौं।”

नेपालको संविधान २०७२ को प्रस्तावनामा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्दै, सञ्चारकर्मीहरुले समाचार संकलनमा स्वतन्त्रता पूर्वक कार्य गर्न पाउनुपर्ने माग गर्दै सरोकारवाला निकायहरुलाई अवरोध सिर्जना नगर्न अपील गरिएको छ।

प्रेस चौतारीले प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई आगामी दिनमा यस्ता प्रेस विरोधी गतिविधि नगर्न कडाइका साथ आग्रहसमेत गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*