पत्रकारलाई फोटो र भिडियो खिच्न रोक्नु प्रेस स्वतन्त्रतामाथिको कुठाराघात

अखबार हब
२०८२ असार ६, शुक्रबार २०:२८

हेटौंडा।मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठले सञ्चारकर्मीहरुलाई फोटो तथा भिडियो खिच्न रोक लगाएपछि नेपाल पत्रकार महासंघ मकवानपुरले गम्भीर ध्यानाकर्षण जनाएको छ।

शुक्रवार जनप्रतिनिधिमाथिको आक्रमणसम्बन्धी छलफल तथा तीन वटा छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलन गर्न पुगेका पत्रकारलाई प्रवेशमा रोक लगाउँदै कार्यकक्षभित्र दृश्य खिच्न निषेध गरिएको थियो ।

उक्त कार्यक्रममा समाचार संकलनका लागि पुगेका करिब एक दर्जन पत्रकारहरुलाई सुरक्षा गार्डमार्फत कार्यकक्ष प्रवेशमा नै रोक लगाइएको थियो।

तर प्रमुख जिल्ला अधिकारीका पीएसओले उनीहरूलाई प्रवेशमा रोक्दै दृश्य खिच्नसमेत नदिने जानकारी दिएका थिए। कार्यकक्षभित्र प्रवेश पाएका केही पत्रकारले दृश्य खिच्न खोज्दा प्रजिअ श्रेष्ठ आफैंले नखिच्न निर्देशन दिएकी थिइन्।

यसबारे केही बेर भनाभनसमेत भएको थियो। पत्रकारहरूले सहज रूपमा समाचार संकलन र दृश्य कैद गर्ने अधिकार माग गरे पनि श्रेष्ठले मौन बस्दै कार्यक्रम अगाडि बढाएकी थिइन्। अन्ततः पत्रकारहरूको क्यामेरा र मोबाइल बन्द गराएपछि मात्र कार्यक्रम संचालन गरिएको थियो।

नेपाल पत्रकार महासंघ मकवानपुरले यस घटनालाई प्रेस स्वतन्त्रतामाथिको कुठाराघात भनेको छ। महासंघले भनेको छ – ‘सार्वजनिक स्थलमा हुने कार्यक्रम र सार्वजनिक चासोका विषयहरूमा पत्रकारको उपस्थिति रहनु स्वाभाविक हो। तर, सार्वजनिक पद धारण गर्ने व्यक्तिहरुबाट प्रेसमाथि प्रतिबन्ध लगाउने कार्य लोकतान्त्रिक मूल्य र मान्यता विपरीत हो।’

महासंघले नेपालको संविधान २०७२ मा उल्लेख गरिएजस्तै पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्न सरोकारवाला सबै पक्षलाई आग्रह गर्दै, यस्ता प्रेसविरोधी क्रियाकलाप नगर्न प्रजिअ श्रेष्ठलाई ध्यानाकर्षण गराएको छ। त्यस्तै उक्त घटनाको पत्रकार संम्वद्द विभिन्न संघ संगठनहरुले विरोध जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*